भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ !

हरेक दिन
हरेक रात तिम्रो प्रतीक्षा गरिरहेको थिएँ
हरेक पल
हरेक क्षण तिम्रो प्रतीक्षा गरिरहेको थिएँ।

तिमी रातहरूमा नआएपछि
मैले रातहरूलाई प्रेम गर्न थालेँ
तिमी दिनहरूमा नआएपछि
मैले दिनहरूलाई प्रेम गर्न थालें।

तिमी कुनैपनि पल / कुनैपनि क्षण नआएपछि
मैले हरेक क्षण / हरेक पलहरूलाई प्रेम गर्न थालेँ !
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ
तिमीलाई फूलहरू उपहार दिन्छु भनेर सोचिरहेको थिएँ !

तिमीलाई सम्झेर म रोइरहेको थिएँ
शीत बनेर खसिरहेको थिएँ
आँशु बनेर जमिरहेको थिएँ।

जून / तारा र आकाश
घाम / नदी र बतास
बाटो / सपना र यात्रा
मैले तिमीलाई जताततै खोजिरहेको थिएँ।

मैले तिमीमा आफूलाई खोजिरहेको बेला
मैले तिमीभित्र प्रेम खोजिरहेको बेला
आँखामा जीवनको प्राप्ति र सौन्दर्य साँचेर
उजाड खण्डहरमा फूलहरू फुलिरहेको देखेँ
ढुङ्गाको कठोर छातीमा फूलहरू हाँसिरहेको देखेँ।

मैले पहिलोपटक थाहा पाएँ
फूलहरू प्रेमका लागि होइनन्
स्वयं प्रेम हुन्।

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ
तिमीलाई फूलहरू उपहार दिन्छु भनेर सोचिरहेको थिएँ !
तर / म त आजभोलि
फूलहरूको पुजारी भएको छु
फूलहरूको माली भएको छु।

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ
तर / आजभोलि
फूलहरूलाई प्रेम गर्न थालेको छु !

प्रेमको अवसानमा
प्रेमकै समाधिमाथि प्रेमपूर्वक फुलिरहने
फूलहरूलाई प्रेम गर्न थालेको छु !


०००