म तिमीलाई मान्छे बनाउन चाहन्थें / मौन आवाज
करोडौं वर्ष पहिले नै
म तिमीलाई एउटा आकार दिन चाहन्थें
प्रकृति भन्दा पहिले नै म तिमीलाई जन्माउँन चाहन्थें ।
तर / म तिम्रो आग्रहसँग असहमत थिएँ ।
तिम्रो आग्रह
सूर्य जस्तै चम्किरहने एक अघोषित अहंकार थियो
मैले त्यो अस्विकार गरिदिएँ ।
तिमी निर्विवाद जून र ताराहरू झैं हुन चाहन्थ्यौ
तर / म कदापि त्यो चाहन्नथें ।
वस्तुतः तिमीलाई म घोर अन्धकारको अन्त्यहिन रेखामा
समाहित गराउँन चाहन्थें
तिमीलाई म उज्यालोको भ्रमित सत्यबाट जोगाउँन चाहन्थें ।
कथित अस्तित्व भन्दा पर
तिम्रो अमरत्वको अर्कै रुप मेरो कल्पना थियो ।
मलाई थाहा थियो
तिमीलाई मैले बगेर जाने नदी बनाएको भए
तिमी कहिल्यै फर्केर आउँने थिएनौ ।
तिमीलाई बादल बनाएको भए
तिमी वर्षात हुन्थ्यौ र कतै विलिन हुन्थ्यौ ।
तिमीलाई बतास बनाउँन खोजेको थिएँ
तर / बताससँग तिम्रो अनुहार मिलेन ।
तिमीलाई हिउँका कणहरूमा स्थापना गरेर
म विलाउँछु भनेर पनि सोचें
तर / सम्भव भएन ।
तिमीलाई रुख बनाउँछु
पातहरू दिन्छु
र / म जरा भएर बस्छु भनेर पनि सोचें
तर / सकिंन ।
तिमीलाई पहाड बनाउँछु भनेर धेरै पहाडहरू बनाएँ
तिमीलाई चरा बनाउँछु भनेर धेरै चराहरू बनाएँ
तिमीलाई फूल बनाउँछु भनेर धेरै फूलहरू बनाएँ ।
मैले अनेक मौसम - ऋतु र यामहरू बनाएँ ।
मैले असंख्य तत्व - पदार्थ र चेतना बनाएँ ।
म तिमीलाई
राग - अनुराग र विरागको पुनरावृत्ति भन्दा पर
स्थापना गर्न चाहन्थें !
म तिमीलाई
फगत - आँशु - खकार र वीर्यमा समाप्त गर्न चाहन्नथें ।
म तिमीलाई निरन्त रुपान्तरण गर्न चाहन्थें
म तिमीलाई करोडौं वर्ष लगाएर
सृष्टिको प्रथम र अन्तिम नमूना बनाउँन चाहन्थें ।
म तिमीलाई कहिल्यै नष्ट नहुँनेगरि नष्ट गर्न चाहन्थें ।
वास्तवमा -
म तिमीलाई मान्छेजस्तै मान्छे बनाउँन चाहन्थें !
०००