भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

म धेरै चोटि दुख्छु / गीता कार्की

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डाँडाबाट उक्लेर जून
सर्वत्र फैलिनु
यदि उसको नैसर्गिकता हो भने
किन आज जूनको दृष्टि छैन
किन आफ्नै किरणको न्यानोले सेकेका
औँलाहरूबाट फोरिन्छ जूनको आँखा
के उनी बोक्सी नै हुन् ?
उनी जून होइनन् ?
उनीसँग उज्यालो छैन ?
अखबारको पहिलो पृष्ठमा
जब जूनको दृष्टिहीन तस्बिर पढ्छु
उनलाई रोपेकै सुइरोले दुख्छु म
सीमान्त पीडामा निःशब्द दुख्ने गर्छु ।
मेरो दुखाइका पृष्ठभूमिहरू धेरै छन्
तिमीलाई दुख्छ कि भनेर दुख्छु
घात गर्नेहरूसँग दुख्छु
साथ दिनेहरूसँग दुख्छु
विष घोलेर अमृत दिनेहरूसँग दुख्छु
फूलको विछ्यौना हालेको देखेर
खिन्न हुनेहरूसँग दुख्छु
काँढामा टेकेको देखेर
खित्का छाड्नेहरूसँग पनि दुख्छु
खै कहाँनिर कतिखेर दुख्छु
म धेरै चोटि दुख्छु ।
सबैतिरबाट झीर पसेपछि
मेरी आमाले पूजालाई भरेको
कलशको चोखो पानी र
त्यही पानीजस्तो आमाको मन
गाउँमै छाडेर आएको सम्झिन्छु
र, हरेक दिन
बोरिङको पानीले शरीर चोख्याउँदै
गीताका श्लोक पढ्छु
मैले सम्झने विषयहरू धेरै छन्
र छुटेका कुराहरू पनि धेरै छन्
ती सम्झने विषयहरूले पनि दुख्छु
छुटेका कुराहरूले पनि दुख्छु
म धेरैपटक दुख्छु ।

दुखाइमा आनन्दकै छहारी भेट्छु
दुखाइमा ‘विषय’ देख्छु
कृष्ण, विष्णु, शंकर र दुर्गाहरू देख्छु
अभावले आफ्नै सन्तानका घाँटी थिचेर
आफैँ पाशो लाग्न विवश अभागी आमा देख्छु
आफ्ना छोरीहरू रूखमा झुन्ड्याएर
आफू पनि त्यहीँ झुन्डिएको लाचार बाबु देख्छु
दुखाइमा धेरै कुरा देख्छु
संसार गोलो सूर्य भएर मलाई
खर्लप्पै निलेको पनि देख्छु
एउटा ठूलो समुद्री आँधी आउँछ
र मलाई
समुद्री टापु बनाएर नछोइकन जान्छ
त्यो पनि देख्छु
म हारेको त होइन
मात्र दुखेको हुँ
दुख्छु कतिखेर दुख्छु
केकेले दुख्छु
म धेरै चोटि दुख्छु........।