भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ? / जीवन आचार्य

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हामी दुवै एउटै बगैँचामा फक्रन लागेका
दुईवटा कोपिला थियौँ
लाखौँ झारपातहरूको रोदनबीच
तिमीले मेरो फक्रन लागेको कोपिला— चुँड्यौ र फाल्यौ।
हुन सक्छ मैले पनि तिम्रो समानान्तरसँग फक्रनुको अर्थ
तिम्रो एक्लो प्रभुत्व बगैँचामा चल्नुको विरोध हुन्थ्यो ।
यसरी म कोपिला नचुँडिएको भए
तिमी कसरी बगैँचामा एक्लो घमन्ड फक्रन्थ्यौ
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

म नानीहरूका असङ्ख्य पाइतालाहरू भएर
क्षितिज नाघ्नलाई डाँडाबाट शङ्खनाद गर्दै हिँडेको थिएँ
तर तिम्रो एउटै विशाल र कठोर पाइतालाले—
हामी सम्पूर्ण बालकहरूका— नरम–नरम पाइतालाहरू
— र, कोमल–कोमल मनहरू
कुल्चियौ र यस्तरी दबायौ—
हुन सक्छ मैले क्षितिज नाघ्नुको अर्थ
तिमी एक्लो सूर्य आकाशमा हाँस्न केही धमिलो हुन्थ्यो
यसरी म नदबेको भए—
तिमी कसरी मैमाथि टेकेर उभिने साहस गथ्र्यौ ?
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

म बिस्तारै–बिस्तारै ढुङ्गाहरू बटुलिँदै
चौतारी भएर पहाड अग्लिँदै थिएँ
तिमी हिमाल पग्लेर मलाई बगाउँदै लग्यौ
यसरी म टुक्रिँदै गएँर तिमी विशाल हुँदै गयौ
हुन सक्छ म पहाड अग्लिनुको अर्थ
तिमी हिमाल छोपिनु थियो।
यसरी म नटुक्रिएको भए तिमी कसरी सिङ्गो हुन्थ्यौ
या, यसरी म नटुक्रिएको भए—
तिमी कसरी हामी टुक्रा–टुक्राको गारो लगाएर अग्लोमहल बन्थ्यौ ?
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

अब हामी दुवैबीच एउटा प्रश्न (?) बाँकी रह्रयो
तिमीले कोपिला चुँडेर फालेको मेरो बिरुवामा
अझै जराहरू र हाँगाहरू बाँकी छन्,
म पुनः बिरुवा हुर्कन सक्छु— लहलहाएर ।
म पुनः कोपिला फक्रन सक्छु— मगमगाएर ।।