भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म बगर बगर आफैँ बन्न लागिरहेको बेलामा / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक टुक्रा चुँडिएर गएको लाग्छ सँधै बेलुकी पख,
कतै त्यो अन्जानमा जहाँ कोही छैन,
निर्मम सत्य यसरी सहिरहन्छु, साँझलाई मुठीभर लिएर
यो किन, किन यहाँ यस्तो हुनुपर्छ
ती अनेकौं आरोह तथा अवरोहका क्षणले झैं
बिउझाउँछ यी कुराहरु ।

मलाई बिहानलाई त्यसैले हातभरी छुन मन लाग्दैन
बिहानलाई पनि मुठीभर लिन मनलाग्दैन अचेल,
तिमी भन्नेछौ यो त तिम्रो बहुलठ्ठी हो
कि तिमी साँझ मुठ्ठीमा लिन्छौ,
कि तिमी चुँडिन चाहने क्षणलाई बाँध्न खोज्छौ
कि तिमी यस सन्दर्भमा अनेक वेदना सहन्छौ ।
म एकदिनको कुरा गरूँ
त्यहाँ ती सिंढीहरु थिए – हामी थियौं,
हामी देवताहरुलाई छोएर आएका थियौं,
नचुँडिने प्रण गरेर
तर, एक टुक्रा चुँडिएर गएझैं लाग्छ प्रण बेलुकीपख, अचेल, त्यसपछि
प्रण गर्नु नपर्ने कसैले पनि,
मेरा काखहरु लालायित रहन्छन्
मलाई त्यसैले आकाश समात्न पनि रुच्दैन ।

मेरा काखहरु लालायित रहन्छन्
तिनलाई छुन, जो चुँडिएर जान्छन्
यो प्रेमको अनुत्साहजनक स्थिति
यो विभ्रमको वास्तविकता
स्पष्ट रुप जो चियाउन थाल्छ व्यर्थ बनेर
परबाट हत्केलाभरि लिएर आउँछ मलाई देखाउन
उनलेझैं कथामा भएको व्यक्ति
मलाई जिस्काउन आउँछ साँझ,
एक हातले सिंढी समाउँदै कि अर्को हातले बलौटो र बगर
यता कति नियतिका व्यवस्था बुनिन खोज्छ
तन्द्राजस्तो भएर
म हो कि होइन जो चुँडिन्छ
अथवा मभन्दा बाहेक कोही चुँडिन्छ ।
ल हुन्छ अब क्षितिज पनि हेरुँ परसम्म छिचोलेर
तर त्यो मेरो अवयवभरि तातो भएर सँगै उभिरहन्छ आभास ।

आभासले मात्र नपुगेर के गर्नु,
बिम्बले मात्र नपुगेर के गर्नु,
खालीपनको पर्खाल बन्न थाल्छ –
नितान्त एकान्त बन्नु भनेको शायद यस्तै रहेछ ।
सहवासले मात्रै नपुगेर के गर्नु,
क्षणले मात्रै नपुगेर के गर्नु,
पट्याइलाग्दो शून्यताको महल बन्न थाल्छ –
नितान्त विचलित भनेको शायद यस्तै रहेछ ।

फेरि एकदिनको कुरा गरूँ,
कतैबाट मन्दिरको कुनै गजुर मेरो छेउसम्म आएको थियो,
त्यसले मलाई पनि मन्दिर बनाउन चाहेको थियो,
म उससित बसिरहेको बेलामा कतिवटा किरण बुनेको थियो,
म जत्तिकै खाली हुँदा पनि उसले मलाई भरेको थियो ।
मेरा आँखाहरु विह्वल हुन्छन्
मलाई त्यसैले आँखा बिछ्याउन पनि मन पर्दैन ।

मन नछुनुपर्ने, कसैले पनि
हत्केलाभरि रंग भरेर कसैले मलाई नदेखाउनुपर्ने
जे हुनु भैगयो भन्छु कहिले
तैपनि नलुछ्नुपर्ने कसैले मेरा मासुहरू मेरा हात र रुखहरु
चुँडिएर गए पनि ठिकै हो, म भनूँला
मैले छोप्दाछोप्दै त्यो उडेर कता जान्छ पर
सधैं बेलुकी पख एउटा नदी नै जान्छ, मलाई नीरस तुल्याएर
म बगर बगर आफै बन्न लागिरहेको बेलामा ।