भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

म बेतलहम सहरको हिप्पोपोटामस / जीवन थिङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हात चुँडालेर दिइसकेपछिको कथा हो यो
छाती र आत्मा पनि टकटकाइसकेर
एउटा पहाडमा उभिएर
डुब्दै गरेको सूर्यलाई हेर्दै
दुईथोपा आँसु चुहाई रूख भएको कथा हो यो ।

झुसिलकीराले चुसिकेको सुनाखरीको एक थुँगो फूल
लिएर म सालिक भइरहेछु
पद्मासनमा रत बुद्धका आँखाको निर्जीव प्रकाश
मेरो अहिलेको उन्नत आकाश हो
पाखुरा र हत्केला उठाएर चढ्दाचढ्दै
देउराली भएर छेक्ने सपना
मेरो अहिले मुटुसम्म पुर्याएको बतास हो ।

मलाई अब तिमीहरू जिन्दगीको कुरा नगर्नू
डर लाग्छ जिन्दगीसित
किनकि युक्लिप्टसजस्ता आँखामा
यसको एउटा होइन धेरै परिभाषाहरू
नाङ्गिसकेको मैले देखेको छु ।

धान फल्ने सुरम्य पाखाको इतिहासजस्तो
मेरो पनि मिनोत्सा भएर लुगलुग काम्छन् आँखाहरू
यो भावावेशमा आफैलाई सम्हाल्न नसकेर
बुद्धका आँखाबाट प्रकाश पैँचो माग्न जाँदा
कञ्चनजङ्घा पनि मजस्तै तथागतअघि
निहुरेर रोएकोमा फिर्ता लिएको मेरो कसमले
आजकाल म सल्किरहेछु—
घाउ भएर बल्झन्छन् कोहीबेला
तरै पनि यो
ढोकासम्म पुगेर फर्किसकेको कथा हो यो ।
 
हत्केलाहरू उम्रेर आकाशमा
मैले उभिएर सोधेपछिको कथा हो
वैयक्तिक प्रौढताहरू धूलो भएर
सन्दिग्धताहरू टाउका–टाउकामा उनेर
म्युजियममा झुन्ड्याएको निरोको वीणाजस्तै
आफै एउटा कीलामा लत्रेर
जम्मै आँसुहरू रोइसकेपछि फेरि
उप्किँदै बल्झेका घाउहरूसिबाय
मरणासन्न जीवनको कथा हो।

ग्यास च्याम्बरमा उसिनिएका सपनाहरूबीच
एउटा देश छ मेरो
सपनाको एउटा देश ।

म घोषणा गरेर पिउँछु मेरो देशको कथालाई
पर्वतहरूको घेरा छ एउटा
माउसुलीहरूको जमातसिबाय
गँगटाहरूको प्रयासबाहेक
सडकका छेउहरूमा ‘बार’ हरू छन्
एउटा कुरा, बारहरूका राता–राता आँखाहरू छन्।
यिनै राता आँखाहरूमा डम्म लागेको कुइरो
तिछारिएका निधारमा बुई चढेका पसिनाका थोपाहरू
सन्नाटामा रोइरहेका भावनाका कफनहरूसित
हामी ओहोरदोहोर गर्छौं।

बिहान यहाँ पातहरूका डोलीमा
आँसुको गीत रोएर आउँछ
मध्याह्रनमा घुम्तीभरि बतास
बहकिएर, बहकिएर रुन्छ
साँझभरि धुपीहरू निहुरेर
आफ्ना शिरहरू झुकाउँछन्
हररात ताराहरू आफ्नै लास बोकेर
बिहान पर्खन्छन्
बुख्याँचाको इतिहास हो यो
बुख्याँचाहरूको सहर/बदनामीको देश ।
 
उमेरकैद पाएको घोषणा
एउटा बग्दै गरेको नदीको छेकबार
बेतलहम सहरका हिप्पोपोटामस
मेरो उसिनिएको कथा, मेरी मेहरुन्निस्सा
मेरो देश ।

अभागका रित्ता सपनाहरू
आकाशगङ्गाजस्तै तिर्मिराएका
वैकल्पिक झुसिलकीराहरू
अवरोहपूर्ण अवरोधहरू
म भोग गर्छु, म पुर्खा भएर भोग गर्छु
बालुवाका प्यासा ओठहरू
समूह–सम्भोगले थकाएका कोठाका बिहानहरूमा
मिरमिरे घामका प्रयासी हातहरू
उठेर लथालिङ्ग परेका झोलिएका शरीर लिएर
स्वर्ग ढकढकाउने औँलाहरू
नरक ढकढकाउने औँलाहरू
पखाल्दै तुसारो र शीतमा टल्कने बतासले
हेर्दै छ किनारामा उभिएर सास फेरेको मेरो देशले।

हात चुँडालेर दिइसकेपछिको कथा हो यो
छाती र आत्मा पनि टकटकाइसकेर
एउटा पहाडमा चढेर
डुब्दै गरेको सूर्यलाई हेर्दै
दुई थोपा आँसु चुहाई रूख भएको कथा हो यो ।