भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म मर्न यहाँ आएको होइन / प्रोल्लास सिन्धुलीय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वासुकाका !
घरहरू बनिरहेका छन् सहरमा
रामजी, शङ्कर र रामकुमारको बन्यो
धर्मले बनाए
बद्रीको पनि बनिसक्यो
शिवे धुइँपत्ताल
खोजिरहेको छ घर ।

सम्झनुस्, हाम्रो गाउँबाट
मरिनखोला लाने लासहरूको सङ्ख्या
घटिरहेछ ।

गाउँमा
कोही तलमाथि परे भने
मलाई खबर गर्न भनिदिनुहोला
भनिदिनुहोला
मर्नलाई मात्र भने पनि
ऊ आउनेछ गाउँमा
यहाँको आर्यघाटमा
आफ्नो चिता जल्लाजस्तो लाग्दैन मलाई
त्यही गाउँका मान्छेहरूले
काँध हाल्नुपर्नेछ मेरो लास
खबर पाएँ भने
त्यसैका लागि पर्म लाउन भने पनि
मैले आउनैपर्छ त्यो गाउँमा ।

सत्य वासुकाका !
घर–घडेरीको के कुरा गर्नु
दाल–चामलको जोहो टार्न मुस्किल छ यहाँ
बाटामा नजिकका साथीहरू भेट्दा पनि
हिँड्न मन लाग्छ –
नदेखेझैँ गरी
साटिइसकेको छ साथीहरूसँगको सम्बन्ध
ऋण–सापटीको लामो सूचीसँग ।


मेरो हालत देखेरै होला
श्रीमतीले सपना देख्न छाडेकी छे अचेल
देखिहाली भने पनि ऊ श्यामश्वेत सपनामात्र देख्छे
रङ्गीन सपनाले आँखा बिगार्छ
ऊ छोरीलाई पनि यही सिकाउँछे ।

वासुकाका !
गाउँले हुनुमा विस्मात ठान्नेहरू
धमाधम बनाइरहेका छन् सहरमा घर
सायद सहरिया हुन नसकेरै होला
गाउँको मान्छे हुनुमा
रत्तिभर हीनताभास छैन ममा
बरु गर्व छ –
तपाईंको लास लगिने बाटोबाटै
मेरो लास पनि लगिनेछ
तपाईंलाई आगो लगाइने जङ्गलकै दाउराबाट
मेरो शरीर पनि हुनेछ यस धरतीमा विलीन ।

सत्य वासुकाका !
मलाई विस्मात छैन घर नहुनुमा
विस्मात छैन दुई छाक मिठो खान नपाउनुमा
मलाई हार्नु छैन
जित्नु छ यो सहरसँग
जितेकै अनुहार बोकेर फर्कनु छ गाउँमा
त्यो गाउँ,
जहाँ म जन्मिएँ,
जहाँको धुलोमा खेल्दै म हुर्किएँ,
त्यहीँको धुलो उडाउँदै
मलाई आफ्नो मलामी हिँडाउने रहर छ ।

म मर्न यहाँ आएको होइन
वासुकाका !
पल्लो कोठाको मान्छेले समेत थाहा नपाउने गरी
मर्नुछैन मलाई यो सहरमा ।