भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म स्त्री अर्थात आइमाई / सीमा आभास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

स्त्रीत्वले स्नान गर्दै
प्रत्येक मास नव–अवतार जन्मन्छु
आफ्नै शरीरबाट ।

पाठेघरभित्र खेलिरहेको कलिलो स्वर सुनेपछि
धरतीका ओठहरुबाट निस्कन्छ मौन तरङ्ग
त्यही तरङ्गले ब्यूँझिएको भुइँ छोएर मुस्कुराउँछु
पोखरीभित्र पूर्णिमाको जून मुस्कुराएझैँ ।

बीसवटा हड्डी एकसाथ भाँचे बराबरको
व्याख्यातीत प्रसूती पीडाशक्तिबाट
निस्कने स्त्रीशक्तिले
उचालेर अलिकति धरा
आफ्नै गर्भबाट जन्माएर आफैँलाई
भर्छु मुटुका कुनाकुना ।

मेरै शरीरभित्र खोपिएको छ सृष्टि कोरिँदै आएको बाटो पनि
मैभित्र फैलिएको छ सृष्टिमै फर्की जानुपर्ने गन्तव्य पनि
मेरै गर्भभित्र छ जीवात्माको कल्पकल्प गर्भ पनि
यही भ्रूण हुर्काउनका खातिर
स्तनभित्र साँचेकै छु स्नेहका अमृत तलाउ ।

यस धरतीले श्वास फेरेसँगै जन्मिएको हो मेरो ढुकढुकी
जुम्ल्याहा हुन् यस धरतीको चेतना र मेरो चेतना
विशिष्ट उभिएकी छु यही युगल चेतनाले सिँगारिएर ।

समुद्रतिर नदीनाला बगेझैँ
बगिरहेका छन् मेरा खुनका नदीनाला सृष्टिको उकालैउकालो
मेरो हृदयको भित्री कुनामा कतै फैलिएको छ यो ब्रह्माण्ड
र, म सुनाइरहेछु
प्रेमका अजस्र गानहरू आत्मालाई सधैँसधैँ ।

यस सृष्टिको भ्रूण म
कालान्तरदेखि बाँचेकै छु ढुङ्गा बाँचेझैँ
आगोमा पनि हिँडेकै छु समुद्रको डुङ्गाझैँ
सीतालाई पनि डढाउन नसकेको अग्निबीज
निलिनै रहेकी छु बालकले दूध पिएझैँ ।
आदिपुर्खाहरुले गुफामा खोपेका चित्रजस्ता
अवर्णित आफ्नै आदिम स्वरूपले सिँगारिएर
महादेवको गलाको नागझैँ लगाएकैछु अग्नि–माला ।

तरबारैतरबारले सुसज्जित
सिस्नाको चम्मर हल्लिइरहेको यस युगको
मूलद्वारमा उभिएर भन्दैछु
टाङ् हेरेर गर्भमै नमार मलाई ।

यो भूइँमा टेक्न मात्र देऊ !
मेरा दुई छातीको केन्द्रबाट जन्मनसक्छ अर्को ब्रह्माण्ड
अँध्यारो टेकेर उज्यालो हेर्न मात्र देऊ !
यही ब्रह्माण्डको पल्लो छेउबाट मेरै गोडाले
हिँड्दैहिँड्दै आउनसक्छ जवान युग !

म स्त्री अर्थात् आइमाई
अनेकौँ प्रेमावतारको अप्रतिम अवतार हुँ म
अब रच्नुछ एउटा अलौकिक सभ्यता ।

प्रेमले ललकारिएको ब्रह्मा रूपधारण गराएर
स्नेहबोधका खातिर, केवल एकपटक
यही जुनीमा, स्त्री नै भएर जन्मनुछ पुरूष–गर्भबाट ।