कति आनन्द हुनेथियो
यदि आँसु उँभो बग्दो हो।
आँसु झरेर छातीलाई मात्र नभिजाएर
मस्तिष्कलाई नै भिजाउने थियो।
आँसु उँभोतिर बग्दो हो त सायद
मान्छेको विवेकका कठोर बन्जर भूमिहरू
कोमल, गिला र खुकुला हुन्थे।
आँसु उँभोतिर बग्दो हो त
हिरोसिमामा बम खस्ने थिएन
नागासाकी पड्कने थिएन ।
गोड्से र जोन बुथ
फ्याँकेर पिस्तोल
गर्थे अङ्कमाल गान्धी र लिङ्कनसित ।
क्लड इथर्ली आकाशबाट फूल बर्साउँथे।
लिभरपुल जहाजहरूमा सोमालियाका केटाकेटीहरू हालेर
घुमाउन जान्थे लिएर ।
यदि आँसु उँभोतिर बग्दो हो
मान्छेका देशहरूमा झ्यालखानाहरू बनिने थिएनन्—
झ्यालखानाहरूमाथि फलैँचाहरू बनाएर
बस्थे मानिसहरू हावा खान ।
यदि आँसु उँभो तिर बग्दो हो
मान्छे ढुङ्गाका आकाश हुने थिएनन्—
मान्छे फलामका ग्रिल हुने थिएनन्—
मान्छेहरू खोलाहरू हुन्थे
छालहरूसित अङ्कमाल गर्दै हिँड्थे।
आँसुतर उँभो बग्न सकेको छैन ।
आँसु तर उँभो बग्न सकेको छैन ।।