यसबेला / हिरा आकाश
यसबेला
घडीको सियो एकआपसमा जोल्ठिएर 
ठीक बाह्र बजेको छ
र मान्छेका छायाहरू पुड्का भएका छन्।
यसबेला
पर्यावरण नै चकमन्न छ 
वातावरण नै सुनसान छ
पानीको प्रवाह पनि माथिसम्म आइपुग्दैन
र डिल ओभानो छ 
तातो हावा चलिरहेछ
र सरुवा रोगका जीवाणुहरू 
स्वतन्त्र उडिरहेछन् 
सँगसँगै सारा वातावरणलाई 
‘डिहाइड्रेसन’ बनाइरहेछन् ।
 यसबेला समयले बाह्र बजाइरहेछ 
र मनपरी गरिरहेछ 
उठेकालाई बसाएको छ 
बसेकालाई सुताएको छ
बस्न र सुत्न नमान्नेलाई 
मुताएको छ 
धुपौरेहरूको कहीँ कमी हुन्न 
तिनीहरूलाई आफ्नो वरिपरि 
फनफनी घुमाएको छ ।
घाम डुबेर 
अन्धकार छ यसबेला
अँध्यारोमा कालो छाया देखिँदैन 
अँध्यारोमा कालो मानिस चिनिँदैन । 
प्रियजन । 
यो कालो समयको कालो छायाविरुद्ध 
आऊ, अर्को एउटा समय खडा गरौँ 
र हाम्रो छायालाई
पुड्को हुनबाट जोगाऔँ।
	
	