यादहरूको गाँठो / सानु शर्मा
बरालिएको बतास झैँ
बर्सौँपछि फेरि
आइपुगेकोछु म त्यही ठाउँमा ।
अझै जीवितै रहेछ
समीको रुखमा
तिमीले र मैले खोपेको हाम्रो नाम ।
तिमी पानी लिन गएको कुवा सुकिसकेछ
तर त्यसको वरिपरि झ्याङ्गिएका रहेछन्
छरिएका हाम्रा यादहरू ।
तिमीले रिसाएर फ्याँकेका चुराका
राता, हरिया टुक्राहरूले
सोध्दै थिए तिम्रो खबर,
मलाई देखेर तिनले
तिमीलाई सम्झे सायद
तिनीहरूलाई देखेर
मलाई तिम्रो याद आएझैँ ।
बूढो भएछ अब त पलाँसको रूख पनि
तर फूलाउन छोडेको रैन'छ यसले
तिमीलाई मनपर्ने रङ्गको फूल ।
यहीँ बसिरहूँजस्तो लागिरहेछ, मलाई
आउने जानेहरूमा
तिम्रो झझल्को देखेर ।
बाराही मन्दिरलाई साक्षी राखी
समीको रूखमा बाँधेको
तिम्रो र मेरो नामको धागो
पुरिएछ अरू थुप्रै बाचा र कसमका धागाहरूले
तर पनि
पहिल्याएँ मैले तिम्रो पछेउराको फेर
र, खोलेँ जन्मौको साथको कामनासहित
तिमीले पोको पारेको
भाकलको गाँठो ।
ओहो ! कति कसिलो गाँठो यो !
किन सकिनौ तिमीले
यस्तै कसिलो गरी बाँध्न
मसँगको गाँठो !
खोलिदिएकोछु मैले,
बाचा कसम पोको पारेर
तिम्रो पछेउरीको फेरले बाँधी
समीको रूखमा कसेको गाँठोलाई
तिमीले चाहे कै जसरी ।
अब त खुल्यौ होला तिमी,
स्वतन्त्र भयौ होला मेरो बन्धनबाट
यदि कहीँ अझै बाँधिएकी भए
यादको धागोले मसँग ।