भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

या त सजाय पाउनुपर्छ / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

या त सजायँ पाउनुपर्छ, या त बेकसुर हुनुपर्छ
न्यायमा भरोसा गर्नेको, निसाफ त जरुर हुनुपर्छ

रवाफ र घमण्डले जो जित्न चाहन्छ अरूलाई
या मूर्ख हुनुपर्छ या, बेइमानीले चुर हुनुपर्छ

धन सम्पतिको के कुरा, चोरेरै पनि बटुलिनसक्छ
मनमा राज गर्न त मनको पो, धनी हजुर हुनुपर्छ

बाटो कसरी देखाउला र आफैँ हराएको मान्छेले
अगुवाई गर्ने नै हो भने, ज्ञाता पूरापूर हुनुपर्छ

यस्तै पाराले त खै, कहिले पो बनिसक्ला र देश
मुलुक बनाउनलाई त, कोशिस भरमग्दुर हुनुपर्छ

कस्ले गर्छ र, भरोसा यहाँ, चिनिएको दुश्मनमाथि
पिठ्यूँमा छुरा खानलाई त, विश्वास भरपूर हुनुपर्छ