यिनै अभेद्य भेदहरू... / केदार गुरुङ
कि मैले सबैबाट भुलिमाग्नलाई
सधैँ भूलहरू मात्र लेख्ने गर्दोरहेछु...
कि अरूहरूले नै मलाई यसरी भुल्नलाई
म भूलहरूको माझमात्र देखिँदोरहेछु...
तर यति चाहिँ अवश्य हो-
मेरो आङ्मा जुम्रा नदेखे पनि
भैँसी त चढ़न् नसक्नु नै पर्ने!
यद्यपि केही सल्बलाएका र घच्च गर्न थालेका भने
नि:सन्देह अनुभव हुने गर्दछ।
जति अर्काका आङ र शिरमा देखेर
हामी निर्धक्क जुम्रा हिँड़ेका कथन सुनाउने गर्दछौँ
यस्तै शायद केही भएको हुनसक्छ
तथा अर्काका वस्त्र र व्यवहार
मन नपरेको हुन सक्छन्...
कसैलाई के मन पर्छ?
कसैलाई कस्तो मन पर्दैन?
यस्तै अनेकतामा एकता
अनेकताहरू नै त
वर्तमान र विद्यमान विविधता र
विचित्रताहरू हुन सक्छन्।
कि कसो भन्न चाहनुहुन्छ तपाईँहरू?
यसैले म-म नै हुँ;
तपाईँहरू तपाईँहरू नै हुनुहुन्छ!
जो, जहाँ, जस्तो छ,
त्यो त्यहाँ त्यस्तै रहन्छ;
यता सार्दा पनि उस्तै हुन्छ,
उता सार्दा पनि उस्तै देखिन्छ;
के त्यही नै त्यसको आफ्नोपन दर्शाउन सक्ने
महत्वको हुन्न र?