युद्धलाई प्रश्न / ज्योति जङ्गल


आम असुरक्षा ओेडेर
मस्तले जिन्दगी निदाइयो,
लडिहेको स्त्री लाश
आफ्नै आमाको झझल्को दिँदैथियो
र पनि,
भागियो आफुलाई मात्रै बोकेर ।
 
नीतिका, संवेदनाका, सहचार्यका
समस्त उपदेशभन्दा माथि
जीवनको स्वलोभ उत्रिँदो थियो,
क्रान्तिको चिम्निमा पोलिएका
अलिखित चित्कार सुन्दा पनि
आफू बाँचेकै उपलक्ष्य मनाइयो ।
 
हरेक दोस्रो उपस्थिति प्रतिको
तीव्र सन्देह
प्रत्येक उठानअघि झस्किएका
ती पाइलाको सतर्कता
चक्रबातमा सूर्य खुद कैद भएजस्तो
सुदूर शून्यता
यो कलमलाई लेखाउन सक्दिन
मेरै बोलीलाई बोलाउन सक्दिन
मष्तिस्कमा अङ्कित डरचित्रहरुको
छायाङ्कन गर्न पनि सक्दिनँ ।
 
उफ् समय
युद्धको भेषमा
पटकपटक परेड गर्छ
क्रूर योद्धाको झुण्ड लिएर,
जन्मनेहरु त सबै
सुन्दर, सौम्य र कोमल हुन्छन् ।
 
विपरीत लाग्छन्
मान्छेमा भेटिएका
यावत कोमलता र प्रतिशोधहरु,
युद्ध, आक्रमण र समर्पणहरु
 
आश्चर्यमा छु
हजार युगदेखि
किन उम्रिरहन्छ पटकपटक
क्रान्ति को बीऊ ?
कहिलेसम्म चलिरहन्छ
मेरो देशमा
युद्धको पुनरागमन ?
 
 

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.