भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

युवा / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

युवा नजीक सृष्टिको म फक्रँदैछु पालुवा
थरी-थरी सुहाउने मभित्र छन् नयाँ कला
बसेर काख मातृको स्वदेश निम्ति मर्दिने
युवा म हूँ समाजको सहस्र शक्ति भर्दिने।

पहाड चढ्न टाकुरा मलाइ घच्घच्याउँछन्
सुवास छर्न फूलले मलाइ चम्चम्याउँछन्
बहेर भन्छ निर्झरी अगाडि पुग्न बढ्नु छ
हिमाल भन्छ अग्लिँदै उ माथि माथि पुग्नु छ।

अपूर्णता छ के ? यहाँ म रङ्ग रूप देशको
विभाग भन्नु छैन रे ! म अङ्ग-अङ्ग देशको
मभित्र देश फुल्छ यो म देशभित्र फुल्दछु
समाज भुल्छ मै भरी समाजमा म भुल्दछु।

म ब्यूँझिएर प्रातमा बिहान झल्मलाउँछन्
मलाइ भेट्न साहसी मुना-मुना पलाउँछन्
फुकेर जान्छ कोपिला र रङ्ग भर्छ होशमा
गुराँस फुल्छ बैँसले मभित्र-भित्र जोशमा।

उठाइ दीर्घ बाहु यी मभित्र पाउ टेक्तछु
रचेर दिव्य सिर्जना मलाइ नै म भेट्तछु
म रङ्ग चन्द्र-सूर्यको प्रकाशपुञ्ज बन्दछु
स्वदेश निम्ति सिर्जिने म पूर्ण रूप बन्दछु।

बलिष्ठ बन्छ देह यै स्वकाममा भए भुजा
भविष्य जुर्मुराउने म देशको नयाँ युवा
बहेर छाल-छालमा म स्नेह स्वप्न छर्दछु
सधैँ-सधैँ समाजमा म सत्यगीत भर्दछु।