भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

यो के? / गोपालप्रसाद रिमाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन
जे म तिम्रो काखमा पाउँछु,
यो सपना जो तिम्रो आँखामा म देख्दछु, यो के?
तिमीनिर आइपुग्दा यो सन्चो लागेजस्तो
अथवा रगतमा बाढी आएजस्तो
मलाई जे हुन्छ, यो के?
अनि आफूलाई च्यातचुत पारेर तिम्रो पाउमा
चढाइदिऊँ यसनिम्ति कि तिमी त्यसलाई लिएर जेसुकै गर,
अथवा म यस्तो हुँ कि
तिमीलाई हेर्दाहेर्दै म नहुँ भनेजस्तो
यो पागलपन, यो के?
मेरी रानी, साँचो बोल, यो के?
फेरि यिनै कुरा मात्र साँचा हैनन् कि
तिमीलाई देख्नेबित्तिकै म सास लिएजत्तिकै
सपना लिन लाग्दछु,
कि म आफूलाई बिर्सेर तिमीलाई सम्झन्छु
क म तिमीमा डुबेर
आफुनो अस्तित्व मेटाउन चाहन्छु
यी कुरा मात्र साँचा हैनन्,
अर्को कुरा पनि त्यत्तिकै सत्य छ-
म तिमीलाई कहिलेकाहीँ आफ्नो मुठ्ठीको माखोलाई झैँ
एकदम मारी मेटिदिऊँक र ती सब कुरालाई
एकदम, खतम पारिदिऊँकजस्तो लाग्दछ-
उकदम, एकैचोटि !
मेरी रानी, साँचो बोल, यो के?
समय दगुरिरहेछ, पर्खनलाई बेला ज्यादै नै कम छ,
घाममा परेर ओइलाइहाल्ला भन्ने डरले
फूल फुल्नेबित्तिकै टिप्न हतार भइहाल्छ,
हरेक हावाको झोकाले उछिनेर लुटिदिहाल्ला भन्ने डरले
हतपताउँदै फूल बटुल्नुपर्छ,
पोल्टामा सुखका सपनाहरु हालेर
हरेक पला दौडिरहेछ
गयो कि फर्कन जान्दैन,
जीवन बितिरहेछ।
मेरी रानी, चाँडो भन, यो के?