यो माटोको बल हो / भवानी भिक्षु
यो आँखाको आँसु उदरको जलन हो
गगनको हो पानी धराको अनल हो
दशाको उपद्रव दिशाहरूको आँधो
युगौंको विषमताको टुट्यो समाधि
यो पीडाको तडपन व्यथाको प्रकम्पन
विवशताको उद्वेग लीकन प्रभञ्जन
उडाई रहेको छ उत्तापको कण
बनाई रहेको छ अणुबम यो जन-मन !
रवानी न यो मेट्न सक्छ कसैले
जवानी, न यो रोक्न सक्छ कसैले
जवानी हो धूलोको उड्नेछ यसले
'विभव'-को विभवता र ‘जगती'-को जडता
'पुराना' को सत्ता 'महा' को महत्ता !
यो कण हो, यो अणु हो, यसैले प्रकम्पित
के सुन्दैनौ तिमी- यो जन-मन छ झंकृत ?
तिमी देख्तैनौ-सबै छन् चमत्कृत ?
जति जो जहाँ छन् त्यहीं छन् विकम्पित
यो विभुता छ विस्मित यो प्रभुता छ शंकित
डराएर हेर्छन् “छ धूलो तरंगित"
जगत-यातना के भयो आन्दोलित ?
के खस्नेछ अट्टालिएका, दुर्ग रक्षित ?
जवाहिर र हीरा, रजत, स्वर्ण सञ्चित
के यी छरिनेछन् भई धूलि-लुण्ठित ?
के अब लत्रिने हो सधैंको सुहावन ?
के हो बिग्रने अब विलासोद्दीपन ?
के हो उज्रिने अब मजा-मोज-उपवन ?
के रज-कणले छोप्छ यो सौन्दर्य-नन्दन ?
अवश्य यही हो यही होला निश्चय
नगरिछोड्दैन यो धूलोले अब जय !
के हल्लाएर हल्लिने हो हिमालय ?
चलाएर के बिग्रने हो यो जन-जय ?
यो जनको हो जय, यो हो अवरोधको क्षय
प्रगतिभित्र अब छैन शंका र विस्मय !
यो हेर, यी बादलका जयमाल करमा
लिई यी खडा छन् हिमालय अधरमा
यी जन-जनका पीडा जनोत्तापलाई
सँगाली हृदयमा यी जन-भावनालाई
उभेका थिए : अब उगेलिरहेछन्
गह्नाएका सारा धकेलिरहेछन् !
यी नगराज हेर्छन्- सुनौला धरित्री
भई बन्दिनी भइरहिछ हत-श्री
रसाका रसिक छन् रसाकै प्रताडक
सुकी तर रहेछन् धरित्रीका बालक
धरित्रीको बालक भोकाई रहेछ
धरित्रीको सेवक कराई रहेछ
धरित्री सिंगार्ने नै उज्री रहेछ
धरित्री सँगाल्ने नै लत्री रहेछ ।
यो दाना बटुल्ने स्वयं छरिएका र
दर-दरका दरबान भई उब्भिएका
यी बर्मामा कोही गोठाला भएका
यी आसाममा आँसुको ज्याला लिएका
यी पल्टनमा टाउकाको माला उनेका
यी भेडा र बाख्राका पाला भएका !
यी नगराज हेर्छन्- "क्षुधा छ तरंगित
व्यथा-ज्वाला-लप्का छ अम्बर-विचुम्बित
यो हो प्राण-पीडा अवनिमा छ केन्द्रित
यो रौं रौंका उत्ताप हावामा केन्द्रित !"
जो यस्तरी प्रवाहित छ 'आँखाको जल' हो
जो यस्तरी छ उद्विग्न 'प्रभुताको छल' हो ।
यो मानबको 'खल' हो जो 'माथि' र 'तल हो
जो यस्तरी छ चञ्चल 'दरिद्रीको दल' हो
जो यस्तो छ बेकल 'त्यो माटोको बल' हो
सबै हेर यो। प्रस्ट ‘माटैको बल' हो ! !
....................................
युगवाणी, ५|२५, माघ २००८