भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

यो सहर कसको हो ? / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
बसाइँ सरेर आएका
सुन्दर कञ्चन गाउँहरू थुप्रिएर
प्रलयकारी बाढीजस्तो सहर बनिएको हेरिरहेको थिएँ।
धूले सडकमा खेल्दाखैल्दैको आफूलाई
हुर्किँदै गएका भवन र च्यातिँदै बढेका बाटाहरूबीच
टेक्नै डर लाग्ने समयमा उभिएर खोजिरहेको थिएँ।
 
थाह पाएदेखि
लगातार हिँडिरहेको आफ्नै सडकको पेटीमा
हराइरहेको मलाई
जीवनको मध्यान्हमा आएर
आकृतिविहीन कसैले थर्थर काँप्दै च्याप्प समायो र सोध्यो
यो सहर कसको हो?

पर पँधेरादेखि उठिआएका इन्द्रेनीहरू
मध्यरातको कृत्रिम उज्यालामा हराइरहेका हेरिरहेको छु।
क्षितिजतिरबाट प्रेमको गीत गाउँदै उडेका चराहरू
भ्रमको धूनमा नाचिरहेका हेरिरहेको छु।
 
हेरिरहेको छु,
शीतलताले मलाई छुँदै पसेको हावा
मध्य सहरमा डढेलो लगाएर मलाई घचेट्दैो फर्कियो।
जीवन बाँड्दैर हिँडेको पानी
सहर पसेर जीवनको बँगैचा मडारेर निस्कियो
बाहिर भेटिँदा साँच्चै मान्छेजस्तै लाग्ने मान्छेले पनि
सहरमा एउटा अमान्छे बेच्यो र आफू त्यसैमा विलीन भयो।
 
एक क्षण यस्तो लाग्छ,
निरन्तर गुन्जिरहेको गालीहरूको आँधीमा सामेल होऊँ
दायित्वबोधलाई फुकालेर नाङ्गिऊँ र
यही सहरको पानीले बनेको रगतको जोश
यसकै हावाले थेगिएको श्वासको आवेग
यसैले सिकाएको बोलीको कम्पन
झिकेर कराऊँ –
      -यो सहर भीडको अधबेस्रो नारामा नाच्नेहरूको हो,
     -मान्छे छोप्ने लेपनमा सुन्दरता देख्नेहरूको हो,
     -संवेदनहीनतालाई आदर्श बनाएर उँघिरहनेहरूको हो,
     -सपनामा बाँचेर विपनाभरि मरिरहनेहरूको हो,
     -हिँड्दाबहिँड्दैि आफैँलाई हराउनेहरूको हो,
     -बौलाहाहरूको हो।
 
यो सहर
 
     -जीवनको सङ्गीत बोकी गुराँसको हाँगाबाट उडेको डाँफेलाई
मन्दिरको गजुरमा चढाएर काग बनाउनेहरूको हो।
     -ईश्वरलाई बृद्धाश्रममा छोडेर घर फर्की
टेलिभिजनमा खोज्नेहरूको हो।
     -मान्छेको बच्चो फोहरको कन्टेनरमा फ्याली
कुकुरलाई दूध चुसाउनेहरूको हो।
 
यसको कुरूपताको वेदनाले निचोरिएको मन बोकी
जीवनको आधी नाङ्लोद समयलाई केलाएर हेर्दा, तर
म,
आफूलाई र यस सहरलाई एकै दृष्टिपटलमा देखिरहेको छु ।
 
यो सहर मेरा उद्वेगहरूलाई
आफ्ना बितृष्णासँगै पिएर हाँसेको छ,
मेरा अपूर्ण रहरहरूलाई खेलाएर हुर्किएको छ,
मेरो प्रेमकथाका सुन्दर सपनाहरू ओढेर निदाएको छ,
मेरो विद्रोहको जुलुस बोकेर ब्यूँझिएको छ।

यस सहरका धूला र धूँवालाई मैले घरसम्म ल्याएर
अनुहार र लुगासँगै धोएको छु,
यसका कर्कश स्वरहरूलाई टिपेर ल्याई
केलाएर आफ्ना गीतमा कुँदेको छु
यसका विक्षिप्त दृश्यहरू बटुलेर आफ्ना कवितालाई सिँगारेको छु,
यसकै सुस्केरा उनेर आफ्नो जीवनको धुन बुनेको छु।
 
यसका तमाम गुणदोषको जिम्मा लिँदै,
म भन्छु,
यो सहर मेरो हो।