यो सहर / भूपिन
यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने
सुन्नेछ
उसले यौवनभरि एकान्तमा गाएका प्रिय गीतहरु
जसलाई मैले लगेर गाएको थिएँ गाउँमा
यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने
देख्नेछ
उसले जीवनभरी कल्पेको प्रेमको आकाश
जसलाई मैले लगेर टाँगेको थिएँ गाउँमा
पुग्छ पुग्दैन थाह छैन
तर यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने
र टेक्यो भने मेरो पुरानो घरको दैलो
थाह पाउनेछ
कसरी गजबार लगाएको दैलोलाई मैले
उसको एकै स्पर्शमा उघ्रिन सिकाएको छु !
कसरी एकाएक खुल्नेछ उसको आँखाले
कुनै चाबीले खोल्न नसकेको एउटा गोप्य बाकस
जसभित्र देखिनेछ
उसले जीवनभरी खोजिरहेको
उसैको थुनिएको आत्मा
र एउटा
मौनता शीर्षको कविता
जसको पहिलो पङ्त्तिमा लेखिएको हुनेछ
‘म मौन बन्न चाहन्छु
केवल तिमीलाई सत्य बताउनका लागि !’
पुग्छ / पुग्दैन थाह छैन
तर कुनै दिन यो सहर मेरो गाउँ पुग्यो भनेँ
भेट्नेछ-
हजार पटक बोलेर पनि सत्य बनाउन असफल
मौनताको पूजा गरिरहेको उसको प्रेमीलाई !