भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रक्तजवा / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ईटाभट्टी काम गर्न जाने ती सन्थाल तरूनीहरू
ओह ! तिनीहरूका काला कोब्राजस्ता
टल्कने आङमा झरेको
नागफनाजस्तो केसमा
सजेको त्यो रक्तजवाको फुल
कुनै नागकन्याको नागमणिजस्तो
त्यो रातो रक्तजवा<ref>शिवानी</ref>

तरूनीहरू सास फेर्छन् त
नाकका पोराहरू फुलिन्छन्
नाकका टुप्पाबाट झर्नै आँटेको
तातो पारदर्शी पसीनाको थोपाले
खस्ता खस्तै अनुहारलाई
चोखो लाली दिएर जान्छ
गुलाबी कान्ति दिन्छ
तरूनीहरू शरीरमा पसीनाको भार बोक्न सक्छन्
तरूनीहरू शरीरमा पसीनाको ह्वास्स गन्ध बोकेर हिड्नै सक्छन्
समयको बाक्लो स्याहीलाई मेटेर
बैँसको रक्तिम रेखा
ह्वात ह्वात पोखिएको औँठमाथि
ठुल्ठूला थोप्ला पसीना बोकेर
तरूनीहरू हिड्न सक्छन् !

तरुनीहरू आँखामा निलो आकाशजतिकै अग्लेर हिँड्न सक्छन्
तरुनीहरू आँखामा गाढा समुद्र जति नै गहिरिन सक्छन्
लर्कनु झर्कनु उफ्रिनु पाफ्रिनु बनिनु भत्किनु
पसीना काढ्नु रगत उमाल्नु सबै गर्न सक्छन्।
तरूनीहरू शरीरमा रगतको चोखो गन्ध बोकेर हिँडन सक्छन्
तरूनीहरू शरीरमा रुपको काँचो धार बोकेर हिँडन सक्छन्।

उनीहरूका बलशाली काँध हुँदै
पिठ्युँमा झरेको लामो केशको गुच्छा
देब्रे दाहिने हल्लाउँदै
हिँड्न सक्छन्,
तरूणीहरू यसरी केशमा
रक्तजवा सजाएर हिड्न सक्छन् !!
                                                                         
............................................................................
रचनाकाल २९. ०३. २००२