Last modified on 21 अगस्त 2020, at 22:01

रहस्यमयी मुस्कान / रामाकृष्ण पेरुगु / सुमन पोखरेल

जबजब प्रवेश गरेँ मैले
निश्चल मुस्कानको संसारमा,
उज्यालो बत्तीको मृदुल न्यानो अनुभूत गरेँ
आफ्नो छातीछेउ।

कहिलेकाहीँ,
यी रहस्यमयी मुस्कान र प्राणवायुले
भरेर हृदयलाई मानवनिर्मित सीमितताले
म आफ्नो ओछ्यानमा ढल्किरहन्छु
आफूलाई ढकेर
दुःखको सिरकले ।

समातेर कोमल औँलाहरू
केटाकेटीका
जब डोहोर्‍याउँछु तिनलाई
म ईश्वरीय अनुग्रहले
भरिपूर्ण अनुभूत गर्छु!
त्यसबेला म बिर्सन्छु
कसले कसलाई डोहोर्‍याउँदैछ?

के मानिसले आनन्दका लागि
राज्य समेत त्यागेका छैनन्?
ससाना ओठबाट पोखिँने
निश्छल मुस्कानका लागि,
किन नदिऊँ म
सुवासित परागले सुन्दर भएको
यो जीवन
र मेरो स्वप्न-नदीको सधैँ बगिरहने सुगन्धको
उपहारस्वरूप!