भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

राता र नीला पहेँला फूल वनमा फुल्दछन् / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

राता र नीला पहेँला फूल वनमा फुल्दछन्,
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन्।
दक्षिणतिर किनारातिर फड्केको बादल,
भोटेको घर मदनअघि नेपाल झलझल,
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
हिमालचूली बिहान खुली उत्तर हाँसेको!
पहाडहरुको नीरको माला नेपाल शहरको,
लुर्कन जस्ता रुखका लहर शिखर किनारको,
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,
उज्यालो पाटा छायाका टाटा, पहाड टाढामा,
दूधका झर्ना झरेका सेता सतह गाढामा।
दूबोको बारी त्यो टुँडिखेल रुखले घेरेको,
धररा उठी शहरमाथि गजूर भिरेको।
आकाशलाई छातीमा राख्ने त्यो रानीपोखरी,
त्यो कान्तिपुरी, केँवराकेश उज्याला सुन्दरी,
साँझमा गाग्रो कटीमा राखी अँगालो हालेका,
मस्केर चल्ने लाजले बल्ने, कपूरमा ढालेका।
विचित्र त्यस्ते त्यो चित्रकारी झ्याल र ढोकामा,
पीपल ठूलो बोलेर उठ्ने हावाको झोकामा।
त्यो सानो घर पीपलनिर, भ्यालमा मुनियाँ,
ती बूढी आमा, ती प्यारी मुना, मनका दुनियाँ।
आमाको बोली, मुनाका आँखा, दिदीको रुलाइ,
कौसीको ज्रन, गमलामाथि फूलको झुलाइ।
फर्केर हेर्छन् मदन फेरि भोटेको आँगन,
क्या राम्रा बच्चा, क्या राम्रा पाठा खेलमा मगन!
हेरेर फेरि भोटेका तर्फ मदन बोल्दछन्,
हृदयभित्र लुकेको इच्छा ओठले खोल्दछन्,
‘हरियो भयो डाँडाको मुख फूल फूल्यो वनमा,
टाढाको घर झल्केर आयो हे दाजु! मनमा।
कलिलो राम्रो पालुवा होला नेपालमा लागेको,
त्यो आलुबखडा हाँसेको होला वसन्त पाएको,
हरियो चिल्लो जोबन होला वनमा जागेको!
वास्नाले मीठो चलेको होला हावाको लहर,
रुख र लहरा झुलेका होलान् सिहर सिहर,
खोलामा होलान् घाममा खेल्न छविला लहर!
‘वसन्त लाग्यो! वसन्त लाग्यो!’ भन्दी हो कोइली,
डुल्दी हो लिई अनेक रङ्गी फूलका सहेली,
दुई दिल मिली फुलेकी बेली, मगमग चमेली,
बगैँचाभित्र स्वर्ग नै होला हाँगाको हबेली,
जोबनका गालामा लाजको लाली फुलेको गुलाब,
पानामा सेता सुनका अक्षर, चम्पक किताब,
पहाड–किल्ला चूली उपल्ला श्रीपेच–सरोज,
रक्षाका निम्ति ती पशुपति मुटुमा विराज,
वीरको देश, धर्मको गादी, शक्तिको आँकुरा,
पछिको बढ्ती देखाई उठ्छन् हिउँका टाकुरा,
त्यो देशभित्र त्यो सानो घर, झल्झली फिर्दछ,
बिर्सेको रिन सम्झनाकन आँसुले तिर्दछ।
सम्झँदिहुन् ती डाँडाकी ज्रन, आमाले मलाई,
वनको छेउ म टाढा बस्छु त्यो घर रुलाई,
तिमीले लायौ सधैँको गुन, म तिर्न सक्तिनँ,
सधैँको ऋणी, म तिर्न सक्तिनँ!
दुइटा मैला सुनका थेला वनमा गाडेको,
यौटा हो तिम्रो यौटा हो मेरो गुनले बाँडेको,
यो तिमी लेऊ बिदाइ देऊ, म घर हिँड्दछु,
यो तिम्रो गुन सधैँको सम्झी अगाडि बढ्दछु।’
भोटेले भन्छ,‘के गर्छ मैले पहेँलो सुनले?
रोपेर सुन उम्रन्न क्यार के गर्छ सुनले?
रोपेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले,
बालक मेरा यी छोराछोरी, आमाले छाडेको,
के गर्नु सुन? के गर्नु धन? दैवले चुँडेको,
यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना,
आकाशमाथि जहान मेरो बादल छ गहना!’
भोटेका बच्चा काखमा राखी, कपाल मुसारी,
पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी,
पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्,
‘बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन्।
गाहारो भयो छाडेर जान गुनको आँगन!
यो गुन कैले म तिर्न सक्छु तैपनि माग न,
दाज्! केही त माग न!’
भोटेले भन्छ, ‘मौकाले पायो त्यो गुन लाउन,
गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न,
आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन,
क्या दिन्छ तिम्ले? क्या लिन्छ मैले? मागेर लिँदैन।
च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ;
बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ।’
रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान,
त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान,
   रोएर घर हिँडे ती मदन!