भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
रात काठमाडौं प्रातः / भूपी शेरचन
Kavita Kosh से
बाग्मतीपारि स्याल,
र वारि कुकुरहरु करउँदा
सशङि्कत माथी कुखुराझैं
घिच्रो तन्काएर
हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ।
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दै–सर्दै धरहराके टुप्पोनिर पुग्छ,
गल्लीहरुका नसाभित्र रगत
कालो हुँदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्पः नयाँ सडक
सल्बलायँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
र चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्ल–बल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट –बिउँझेर
र बोली फुट्छ अनि स्तब्ध धाराहरुका
र हाँस्न थाल्छन् उन्मुक्त झ्याल र ढोकाहरु।