भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

रात परेन आज यो सहरमा / ललिजन रावल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रात परेन आज यो सहरमा
दिन लम्बिँदैछ पर–परसम्म
दिनको लम्बाइमा
ज्यामीले कति बेरसम्म घोट्टिनुपर्ने हो ?
उज्यालोको ज्यादतीमा
कमैया कहिलेसम्म सुस्ताउन नपाउने हो ?

रात ढलेन अझैसम्म भन्दै
कति–कति कविताहरू लेखिए यसै सहरमा
प्रभातको आह्रवानमा कति–कति गीत गाइए यसै सहरमा
तर आज प्रतीकका सङ्केत फरक हुन थालेका छन्
विम्बले अर्कै झलक बोक्न थालेका छन्;
दिनभरिको थकान मेटाउन
साँझ किन आउन सकेन यहाँ ?
 रातलाई कसले रोक्यो बीच बाटैमा ?
दिनको आतङ्क र उज्यालोको ज्यादतीविरुद्ध
कालो चस्मा लाउनु नै कहाँ पर्याप्त हुन्छ ?

उज्यालोलाई अट्टालिकाबाट/महलहरूबाट
छाप्राहरूसम्म पुर्याउने ती हातहरूलाई के थाहा थियो र ?
कि त्यही उज्यालोले छाप्रोको अलिकति चैन र आराम पनि
झनै खलबल्याइदिनेछ भनेर ।

रात परेन आज यो सहरमा
र अलिकति सुखका सपनाहरू पनि देख्न पाइएन
दिनभरिको कोलाहल र यन्त्रणाबाट मुक्त हुन
एकान्त र एकलासको क्षण पनि भेट्टाउन सकिएन
कसैको सम्झनामा दुईथोपा आँसु खसाउन
एउटा उपयुक्त समय पनि भएन ।
 
कत्रोअन्याय गर्यो यो दिनले
के दिन भनेको यही हो ?
उज्यालोको अर्थ यही नै हो ?
पानी गति हो तर त्यसले जीवनलाई बगाउन पनि सक्छ
आगो शक्ति हो तर त्यसले सिर्जनालाई डढाउन पनि सक्छ
सबैलाई थाहा छ, यो कुनै नौलो कुरा होइन
त्यसैले त दिनको आतङ्क र उज्यालोको ज्यादती पनि
सहजै स्वीकार गरिरहेछन् मानिसहरू यस सहरमा
र कतै–कतै गाइँगुइँ सुनिन्छ
रात परेन आज यो सहरमा ।