Last modified on 30 अप्रैल 2021, at 21:17

रोदन (श्लोक १२ देखि २२) / नरेन्द्रप्रसाद कुमाईँ

(१२)
वनको बीचको सानो पन्थ
दूर खुला त्यो कुन्तल गगन,
एकलो पान्थ, राह अनन्त
भित्री मनको सुखमा मगन ।

(१३)
आशाको मधुर बाली दीप
जान्थ्यो अघि नै पान्थ एकाकी,
थाह के कठै! निभे दीप
रहला बीचमै यात्रा बाँकी ।

(१४)
पथको उसको पहिलो यात्रा
बबुरा नव-यात्री एकाकी
देख्थ्यो जति-जति जान्थ्यो अघि,
अनन्त सुखको मधुरम झाँकी।

(१५)
हिमकणको कटु शीत भाग्यो
वसन्तको नव-बहार लाग्यो,
बनको मानसबाट कोकिल
नयाँ कहानी कहन लाग्यो

(१६)
लामो वियोगपछिको मिलन
कति-कति पछिको यो प्रिय चुम्बन,
जोड़ी अधर भ्रमर निदायो
सुमनले पनि चिम्लिन् नयन ।

(१७)
झंकृत भयो तार वीणाको
छायो जग त्यो स्वर-लहरीले,
गर्दै विश्व अहो! मतवाला
जादूमय स्वर मदिरा – रसले ।

(१८)
रात जुनेली, फूल फुलेको
प्यारो सुन्दर रूप खुलेको,
पर दृष्टिको गह्रुंगो भार
पर्दा शिर आह ! केही झुलेको ।

(१९)
कुन्द-किनार भएको घुम्टो
खोली घटाको मधु हाँसोले,
विश्व विमोहन गर्ने रूप
उनको अघाडि देखें मैले ।

(२०)
सहस्त्र नील कमल-दलमा
एउटा श्वेत कमल हाँस्छ,
कोटि यादबीच यो एउटा
अलगै भित्र प्रिय रहन्छ ।

(२१)
कालो गिरिको बीचमै वक्ष
चिर्ने सेतो
त्यो हाँसोले मानस-पटमा
कोर्छ यादको रेखा यस्तो ।
सरिताजस्तो,

(२२)
नव-आशाको ज्योति लिएर
तिमी आएथ्यौ गर्न मिलन,
निराशाको पारी निशीथ
छोड़ी भाग्यौ एक्लो मकन ।