Last modified on 30 अप्रैल 2021, at 21:19

रोदन (श्लोक २३ देखि ३३) / नरेन्द्रप्रसाद कुमाईँ

(२३)
मिथ्या-सत्यको भयो जाँच
असत्यताको कठोर क्रान्ति,
हायो आखिर, जगमा छायो
सत्यताकै सुखमय शान्ति ।

(२४)
विपनाको पहिलो झाँकीले
सपनाको सब बोध गरायो,
विपनाले अनि परदा पर्दा
सपनाको मधु-दृश्य हरायो ।
(२५)
बिजुलीको त्यो तिम्रो चाल.
गयौ दिई लघिम दर्शन,
मायावीको
माया-जाल
पारी मनमा बिछोड़-जलन ।

(२६)
उस्तो मनमा चोट दिँदैन
बरू बिपनाले, दुःखमय घात;
जस्तो पीड़ा मनमा पार्छ
सपनाको सुखको आहत ।

(२७)
क्षणस्थित किन दीप जलायौ?
पान्थकन किन आशा दिलायौ?
प्रिया मिलनको मधुमय सुखको
गरी कहानी शुरू किन भाग्यौ?

(२८)
आशाको मधु संध्या-पलमा
निराशाको उदय क्षणमा,
सुखको गोधुलि गर्दै प्रातः
आयौ दीप लिई सँगमा ।

(२९)
जीवन-मरणको सन्धि-काल
मृत्युको यो अन्तिम हार,
अन्तिम जय जीवनको यो
जीवनको चिर-दिनको हार!
 (३०)
निमिलित दीपमा अन्तिम बार
आयौ प्रकाश एकै बार,
फेरि क्षणमै बुझ्यो दीप
यस्तै हुन्छ जग नै आखिर ।

(३१)
सुख थियो यो हृदय तड़ाग
भरी गरायौ दर्शन जलले,
प्रेम-पद्म तर विकसित नहुँदै
सुन्दरी! छाड़ी भाग्यौ छलले ।

(३२)
स्वन-दशामा पारी मकन
स्वर्णिम जगमा लगिकन राख्यौ,
सुखमय दुःखको सागरभित्र
फेरि एक्लै छाड़ी भाग्यौ ।

(३३)
प्रेम-प्रदेश, प्रेमको वन थियो
मलय-पवनमा प्रेम बहन्थ्यो,
तरू-लतामा पनि प्रेम भरेथ्यो
निर्झर झन् त्यो प्रेम कहन्थ्यो ।