लखनौ-चंगा / ध्रुव दवाडी
उड, उड मेरो लखनौ-चंगा अकास छोई आऊ 
त्यसभन्दा अझ पर जान सके तारा-नगरी जाऊ 
मेरो बदला पनि सयल गरी माथि घुमीकन आऊ 
सम्झे केही चीज त्यहाँको मलाइ ल्याई देऊ। 
फनफन तिमीले घुम खाई के जान्न भनेको हो ? 
अथवा मेरो आज्ञा मानी जाने राय दिएको ? 
या त त्यसै ह्वौ उल्किरहेका, के हो लौ बतलाऊ 
धागो हेर, म छाडिरहेछु, बेग बढाई जाऊ । 
कति सर्काले कुन तह पुगियो सो खबर दिदै रहुँला 
म पनि तिमीसँग धागोद्वारा तार-कुरा गरिरहुँला 
झट्ट तिमीमा सूर्य किरणको टलक परेको बेला 
'दिनको तारा' देख्यौं भन्दै ढोल पिटाईदिउँला । 
साना तारक-बालकलाई हतकेलाबिच राखी 
थैथैबाना थैथै भन्दै फुत्फुत् देह उफारी 
छुनुमुनु गर्दै तिनसित चल्दै पैह्ले खुब रत्याऊ 
छिनभर बोकी घुम्दछु भन्दै अनि तल झर्दै आऊ । 
तारालाई काँध चढाई ल्याइरहेको देख्दा 
यस्तै रितले केवल हेरी हामी अड्न सकौंला ? 
एक्क चोटी सबले उफ्री नभमा उक्लन खोज्दा 
यो हाम्रो थिचिएको दुनियाँ मास्तिर कति जति उठ्ला ? 
.............................
भारती, १|७, पुस २००६ 
 
	
	

