भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

लडाकुको रुमाल / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


स्वेच्छिक अवकाश लिएर घर फर्किरहेको पूर्व लडाकुले
बिर्सिहिडेछ बाटो छेउको झुपडीजस्तो चियापसलमा
पसिना पुछेर राखेको रुमाल,

कुन तर्कनामा थियो होला ऊ
र विर्सेर हिड्यो आँसुको अक्षरहरुले लिपीवद्ध गरेको
अनेक कथाहरुको एउटा संग्रहजस्तो
थोपा–थोपा पसिनाले भिजेको
कुनै गम्भिर तेलचित्रजस्तो
अझ क्यान्टोन्मेन्टका उदास दिनहरुमा
कहिले हातमा कहिले गलामा भएर
नछुट्टिने साथी जस्तो रुमाल

घर पुगेर हेर्नेछ उसले
किलामा झुण्डिएको स्कूलको झोला
जुन उसले छोडिहिडेको थियो आँगनमा वर्षाै पहिले
र सामेल भएको थियो सैन्य तालिममा

हेर्नेछ शहिद घोषणा गरिएकी निर्दाेष बहिनीको तस्वीर
त्यसमाथि सुकिसकेको माला
संझिनेछ– जनताको मुक्तिका लागि भनेर आफैले दिएको सदस्यता
केही सोधेझै लाग्नेछ उसलाई तस्वीरका
चम्किला आँखाहरुले,

कठै भनेर सुम्सुम्याउनेदयालु हजुरआमा हुनेछैनन् अब–
हुनेछैन रोएर बाटो छेक्ने बहिनी
साँझको आकाशबाट झरेको तारा जस्तो गायव हुनेछ उत्साह अचानक
सामुन्नेमा हुनेछन् जटिल प्रश्नजस्ता बा आमाका अनुहार
बाबु ! कहाँ फर्फरायो क्रान्तिको रातो झण्डा ?

आँखामा टिल्पील टिल्पील हुनेछन् अाँसुहरु
अनि खोज्नेछ उसले यही रुमाल !

स्वेच्छिक अवकाश लिएर घर फर्किरहेको पूर्व लडाकुले
बिर्सिहिडेछ बाटो छेउको झुपडीजस्तो चियापसलमा
पसिना पुछेर राखेको रुमाल !