लेखकहरू / ज्योति जङ्गल
चिनेकाहरुसग
अलिक पराई जस्ता छन्
नचिन्नेसग बाड्न
परिचयको प्रमाण बोक्छन्
कुदिरहन्छन् जिन्दगीभर
जति कमला छन्
उति नै अप्ठ्यारा छन्।
रातमा उठ्छन्
अक्षरको आकारमा लुकेर
संसार घुम्छन्
अरुकै कथा खोज्दै हिड्नुछ
बेस्याहार
वर्षौंको बेहोशी जस्तो।
यी त !
अरुकै पीडाले
मुटुको प्रत्येक कोठा कोतर्छन्
आहतको दर्द उतार्छन्
र बर्बराउदै दगुर्छन्।
समान छन् जति
उति नै असमान जिउछन्
आफ्नो सपना कतै छुट्छ
अरुकै सपना बटुलेर
फूल बनाउछन्
सुन्दरताको बयान गर्छन्
स्वाभिमानको झोला भर्छन्।
जमानाले ठट्टा गर्छ
उनीहरुमाथि कहिलेकाही
त्यसैको ऐनामा
यी आफ्नो प्रतिविम्ब हेर्छन्
र मग्न मुस्कुराउदै हुन्छन्।
अरुलाई सामान्य सम्झेर
आफुलाई अलग्गै छु भन्छन्।
यी मादक थोपाहरु
मन पोखेर मनहरुको
अर्को संसार निर्माण गर्छन्
यीसग सिर्फ
कलमकै औजार त छ।