भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लैजानू / ज्योति जङ्गल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमी हिडेदेखि
कुरिरहेकी छु तिम्रो घर ।
 
जीवन हेर्न नसक्ने मेरा आँखाहरु छन्
कतै नपुग्नेगरी हिँडिरहेछु,
मुस्कान डराएर भागिदिन्छ मेरा ओठबाट
आफ्नै अनुहारको
माया लाग्न छोडेको छ ।
 
तिमी छैनौ
श्मशान जस्तो शुन्यता छ घरमा,
अझै कुरिरहन सक्दिनँ म
लैजाने भए लैजानू
जलाउने भए जलाइदिनू ।
 
दुखैदुःखका माला उनेर
कसैलाई पहिराउनु छैन
न यो छातीमा सम्झनाको
पिरो विष पालेर पर्खिनु छ ..।
 
प्रेम पनि हार्दो रहेछ बाटो हेरेर
शील पनि थाक्दो रहेछ समेटिएर
माया लाग्ने लाटो धर्ती
झन् वैरी पो हो कि ?
यी सबैले झुक्याइरहे ।

 
निर्दयी लाग्छन् यी एक्ला खुशीहरु
अब बिसाउँछु,
हदैसम्म दुख्ने मनको भारी बिसाउँछु,
मौन शब्दलाई चिमोटेर
बोल्न लगाउछु यो आभास
देखाइदिन्छु
कतिसम्म गह्रौं छ
मैले एक्लै थामेको आकाश ।
 
अब फर्कनेहरुको लागि
मनको घर पनि भत्काउँछु
यो हिंस्रक शुन्यताको मर्म
तिनिहरु बुझ्दै बुझ्दैनन्
 
विरानो आशा
नियाँस्रो याद
उनीहरुलाई उपहार दिदैदिन्नँ,
 
निभेको आगो
सुकेका फूलका बोटहरु
कसिङ्गरको थुप्रो
र मेरो डढेको वैंश मात्र छ त्यँहा ।
 
मेरो आँखाको मोती झिकेर
उहिल्यै हिँडेथ्यो आदिम सभ्यता
उतै छोडियो कि मेरो सामर्थ्य,
भो लग्दिनँ
यतै छोडिदिउँला
आँसुका गहना,
 
म शुन्य छु
कतैको शुन्यतामा थपिनेछु,
 
 
बाँकी जेजे
तिम्रै सबै
लानेभए लैजानू
जलाउनेभए जलाइदिनू ।