लोकधून / सुदीप पाख्रिन
घुयेँत्रो हाने भो
नाथे हुस्सू जित्न नसक्ने
यो फूच्चे सूर्यलाई
अडेस लाईरहेको छानोबाट झिकेर
ब्रम्हाण्डको ब्ल्याक होलतिर कतैं ।
बेला न कुबेला
काला बादलहरुमा तुर्लुङ्ग... झुण्डिरहने
यो चमेरे जून
हामीलाई के काम ??
कूचोले झारेर
मिल्काए भो
बरमुडा त्रिकोणमा लगेर ।
बल्ने भन्दा बढी निभ्ने
यी रहरजस्ता जूनकीरीहरु,
अँध्यारोले गिज्याइरहने
यी कुनै लोकधुनजस्ता ताराहरु,
खालि दुःख रोइरहने
झ्याउँकीरीहरु,
बरण्डामै आएर
घरीघरी
पीडा मात्रै रेटिरहने
यी भँगेराहरु
अहँ !
हाम्रा होइनन्
कुनै पनि कोणहरुबाट ।
किन नौटंकी गर्छ हँ ??
बेलाबेला
यो चेपारे बिजुली
झल्याक... र झुलुक....
गड्याङ्... र गुडुङ्... गर्दै
हामी वरिपरि उम्रेका
यी युगिन
राक्षस-अँधकारहरुसँग पौठेजोरी खेल्छु भन्दैँ, व्यर्थै ।
के यिनीहरुलाई
थाहा छैन र ??
हामी हाम्रै उज्यालाहरुबाट
पराजित छौँ— युगौँदेखि ।
हामी हाम्रै आफ्नाहरुबाट
प्रताडित छौँ— शताब्दियौँदेखि ।