लोभका विषयमा / उमानाथ शर्मा पोख्रेल
हो लोभ दुःख र असद्धति को निदान ।
“मदीनकी म” भनि यो गरिदिन्छ भान ।।
लोभैछ मानिस फसाउन लाइ खोटो ।
यो हो कडा नरकको अति घोर बाटो ।।११३।।
माता पिता गुरु भनिन्न गनिन्न पाप ।
चाहेसहस्र तिर पर्दछ राप ताप ।।
खाली बटुल्दछु थुपार्दछु खूव पैसा ।
जप्तै रहन्छु म निरन्तर हाय ! पैसा ! ।।११४।।
रोओस् गरीव न मिली कन गाँसवास ।
चाहे हुरुक्क हुन जान्छ हुँदै हताश ।।
अर्का निमित्त म निकाल्दिन एक कौडी ।
चर्पी महाँ वरु म छर्दछु दौडि दौडि ।।११५।।
यस्तै प्रकार विपरीत गराइ बुद्धि ।
यो लोभले सकलको हरिदिन्छ शुद्धि ।।
जुक्ती गरेर यस वाट हटौं डराई ।
कर्तव्य कर्म तिर दृष्टि लगाउँ भाई ।।११६।।
यी शत्रु को हृदय वाट जरो उखेलौं ।
विद्या विवेक सँग शान्त भयेर खेलौं ।।
ज्यूँदो रहन्छ जव सम्म त वीर शत्रु ।
हुन्छौं सवैजन सधैं तब सम्म पत्रु ।।११७।।