भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वचनोद्यान / सिद्धय्या पुराणिक / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


धरती मेरी आमा
आकाश मेरा बाबु
र आमा र बाबु दुबै हुन्
ती,अजन्मा
स्वतन्त्र धीर सिद्धेश्वर।


बीउलाई फुटाएर
टुसो पलाउने आशा कसरी गर्न सक्छौ, साथी?
पलाएको टुसालाई चुँडाएर
मुना पलाउने आशा कसरी गर्न सक्छौ, साथी?
अङ्कुरलाई चुँडेर
कोपिला लाग्ने आशा गर्न कसरी सक्छौ, साथी?
कोपिला निमोठेर
फूल कसरी भेट्न सक्छौ, साथी?
फूल टिपेर
फल लाग्ने दिन कसरी पर्खिन सक्छौ, साथी?
स्वतन्त्र धीर सिद्धेश्वर,
तिम्रो सिर्जना, अर्थात् यो मानवजातीको
के अर्थ छ यसभन्दा बाहेक अरू?


अनन्तताको इन्क्युबेटरमा
शायद
अशङ्ख्य विश्वहरू अण्डाझैँ ओथ्रिरहेका छन्,
तर एउटामा
अनगिन्ति जीव जन्मिएका छन्, र मरेका छन् ।
शायद
तिनले बाँच्नको लागि गरेका सङ्घर्षले नै
तिनीहरूलाई दु:खी बनाएको छ ।
त्यसैले
के तिमीले अरू असङ्ख्य विश्वमा
सृष्टीको कर्म छोडिदिएका हौ
तिनीहरूलाई बाँझोँ देखेर?

त्यसो हैन भन्ने आशा गर्छु म, ए परमपिता...
किनभने
गान्धी, टैगोर र अरविन्द
शाताब्दीऔँमा एउटा जन्मिनुले
असङ्गत देखिन्छ ।
 
जब यो त्यस्तो हुन्छ...
जब आउँदा शताब्दीहरूले
धेरै महापुरुष लिएर आउने गर्व गर्न सक्छन्...
किन यो क्रोध,
स्वतन्त्र धीर सिद्धेश्वर ?


स्वतन्त्र धीर सिद्धेश्वर
यदी म फेरि जन्मिएँ भने
जन्मिऊँ एउटा कन्नडिगा र
बसभको भक्त भएर...
हैन भने,
ईश्वरको अमृत भएर जन्मनुभन्दा
गरीबलाई उपलब्ध हुने दूध भएर जन्मिऊँ;
भारतको वैभव मानिएको ऐरावत हुनुभन्दा
म भक्तहरूको गोरु भएर होऊँ;
सम्भ्रान्तहरूलाई सुख दिने कल्पतरू हुनुभन्दा
गरीबलाई फलफूल दिने बुट्यान भएर जन्मिऊँ ।

म यमको भैँसी हुनुभन्दा
दत्तात्रेयको कुकुर होऊँ
सम्पन्नहरूको मोती र गहना बोक्ने सन्दुक हैन
हडपाड अप्पन्नाको बाकस होऊँ ।

 
 ५
एउटा टमस भन्नेले
तिमीप्रतिको मेरो गहिरो विश्वासको हाँसो उडायो!
तर मैले भनेँ,
चुप लाग सक्छौ भने
आस्था गर्न पर्ने त्यसभन्दा महत्वपूर्ण अर्को केही देखाइदेऊ मलाई,
म तिमीलाई छोडिदिन्छु र त्यसैलाई विश्वास गर्छु।
सजिलो छ आस्था भत्काउन
तर कति कठीन छ
आस्थाको स्वर्गीय आनन्द प्राप्त गर्न...

हे परमआस्था!
मलाई तिमीप्रति अटुट आस्था छ भन्नलाई
कुनै सङ्कोच छैन, मलाई,
स्वतन्त्र धीर सिद्धेश्वर !


अति धेरै बाटाहरूले हामीलाई
खनजोत गर्नै नसकिने जमिनमा पुर्‍याएर छोड्यो भने कस्तो हुन्छ.
अति धेरै मार्गहरूले हामीलाई
एउटा कोठा पनि बनाउन नसकिने बनायो भने के हुन्छ
धेरै तर्कहरूमा अलमलिरहँदा
हामी कुराकानीको सुगन्ध लिने फुर्सद नै भएन भने के हुन्छ?

धेरै उपदेशकहरूको कुरा सुनिरहेर
हामी कसरी आफूलाई पराजित गर्न सक्छौँ?

यो एउटा नाजुक बिरुवा हो
हरेक दिन नसार यसलाई;
यो एउटा अबोध बालक हो
यो धेरै मान्छेबाट चल्न नसक्न सक्छ...
मलाई तिम्रो बाटोमा हिँडाऊ
मलाई तिम्रो ज्ञान पिलाऊ
सत्य बोलाऊ मबाट
स्वतन्त्र धीर सिद्धेश्वर ।