भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

वरवधू-सम्बोधन / चक्रपाणि चालिसे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


काली नागिनिले समान कवरी मालाहरुले भरी
चम्पा बेलि चमेलि जेलि शिरको शोभा बहूतै गरी ।
लाई गाजल लोल लोचनविषे, टीका डटी मालमा
शम्पा र्झै अति चम्किलो बदन ली बस्छयौ खुला झ्यालमा ।।१।।

कल्मीवाल विशाल नील शकली टल्कन्छ केशावलि
लालीले परिपूर्ण साफ कलिलो देखिन्छ गण्डस्थली ।
मोतीले तिलपुष्प सदृश सफा झल्कन्छ नासापुट
लड्केको छ अतीव कर्णयुगमा ताटड्ढयुग्म स्फुट ।।२।।
 
ताजा विम्बफलोपमान रसिलो ताम्बूल रागान्वित
पत्ला कोमल ओष्ठपल्लवविषे स्पष्टै छ मन्दस्मित ।
वेदाना नमुना हुने अति घना दन्तवलीको छवि
छाई स्वच्छ गराउँदो छ दश दिक् चाहिन्न दोस्रो रवि ।।३।।

कालिन्दी-जल तुल्य निर्मल शरत्कालीन आकाशमा
हाराकार हिरासमान भरिला तारा लिई पासमा ।
चम्केको चलचन्द्र झैं चहकिलो तिम्रो कलीको मुख
काला केशकलापका बगलमा गर्दो छ यो कौतुक ।।४।।

शङ्काकार सहार सौम्य सुरिलो रत्नादिले उज्ज्वल
शोभाले कलकण्ठि ! पूर्ण अहिले देखिन्छ कण्ठस्थल ।
गोलाकार निचोलनद्ध कुचमा चम्केर चारैतिर
मुक्ताहार विहार गर्छ चिनियाँ चैलान्तका मन्तिर ।।५।।

बाजू बन्धन चित्र चन्दन चुरी बालाहरुले खुली
झुलेका छन पद्यनालसरिका तिम्रा दुवै वाहुली ।
मुद्रालंकृत पाणिपल्लवविषे लीलारविन्दद्युति
चक्राकार परी रहेछ उसमा देखिन्छ रागोन्नति ।।६।।

लच्केको छ कटो पयोधरतटी अत्यन्तट भारी हुँदा
पेटी स्वच्छ लपेटिंदा उसमहाँ देखिन्छ शोभा जुदा ।
जामामाथि परासिका किसिमको रङ्गीन त्यो रेशमी
सारी लड्किरहेछ कान्ति उसको देखिन्न केही कमी ।।७।।

हल्का वेश नवीन फेसन हुँदा छाडी गर्हौं मेखला
मानो नाटयशाला शिकाउँछ भने झैं भैरहेको खुला ।
चक्कादार विशाल पुष्ट नकले तिम्रो नितम्बस्थली
खाली नै छ सुनिन्न आज उसमा रम्भोरु क्यौ खल्बली ।।८।।

सारीलाई उफारि भारि रितले अत्यन्त जारी हुँदो
वरीपारि रहेर कामिजनको सर्वस्व खैंजी लिदो ।
चम्पा गौर सुडौल पीन नवनी जस्तो नरम् उज्ज्वल
तिम्रो अद्भुत नै छ रम्यकदलीस्तम्भोपमोरुस्थल ।।९।।

हल्लीखल्लि छ कल्लिको चरणमा झस्कन्छ गल्ली पनी
चिल्लीबिल्लि उडाउँदो छ म पनी रल्लिन्छु सिल्ली बनी ।
ढल्क्यो रात, समस्त मस्त निदमा देखिन्छ चेटीगण
जागै छौ अझसम्म ! सुभु मनमा तिम्रो छ के चिन्तन ? ।।१०।।

तन्वङ्गि ! स्थिर छैन आसन पनी वस्ती छ एकान्तमा
वारंवार विलोल लोचन दुवै दिन्छयौ पथप्रान्तमा ।
यातायात अनन्त देख्छु कहिले रोकिन्छ तिम्रो गति
चौंकन्छ्यौ कहिले अचानक उसै देखिन्न एकस्थिति ।।११।।

हाई हाइ गरी विताइ रजनी के कामका अर्थमा
खाई कष्ट अनेक सुन्दरि ! यसै बस्छयौ तिमी व्यर्थमा ?।
या कोही वरका निमित्त तिमिले थाल्यौ अनुष्ठान यो
सम्झन्छू म मकार-पञ्चक पनी पक्का तिमीमा छ त्यो ।।१२।।

जप्ती होउ हजार कं-पनि तिमी श्रीमोहनी-(!) मन्त्र यो
मालुम, हुन्छ अवश्य सिद्धि मिलने वेला पनी भैगयो ।
धन्दा केहि नमान, हूँ म पनि ता यै कामको साधक
भन्छू लक्षण पूर्ण देखि अहिले केही नमानी धक ।।१३।।

हाजीरै छ वर स्वयं खुशि भये तिम्रा सबै मातृका
देखाऊ अब शीघ्र सौम्यवदने १ आवाहनी मुद्रिका ।
धेरै बेर भयो बसूँ अब कती यो झ्यालका मन्तिर
डाँकूको दल निस्कने बखत भो शून्यै छ चारैतिर ।।१४।।

आये अल्मलियेर रातविचमा खाली अकेला म छू
बाटाका पनि याद छैन अगुवा कोही न ता देख्दछू ।
तिम्रो मोहिनि मूर्तिले खिंचिलिंदा रोकिन्छ पाऊ पनी
पाऊँ वास कहाँ म जाउँ अहिले सम्भोरु ! पीनस्तनी ! ।।१५।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)