भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
वर्षायाममा झरेका पातहरू / मौन आवाज
Kavita Kosh से
					
										
					
					आजकल म 
हरेक साँझ बिहान 
समयको बार्दलीमा उक्लिरहन्छु !
कहिले सूर्योदयको सुख हेरिबस्छु 
कहिले सूर्यास्तको दुःख हेरिबस्छु !
फूलहरूको निर्बन्ध हाँसो 
र चराहरूको उन्मुक्त उडान हेरिबस्छु !
यो आकाश पीडाको अनन्त क्यानभास हो 
यो धर्ती अस्तित्वको विशाल रङ्गमञ्च हो !
कहिले मौनताको गीत सुनिबस्छु
कहिले अस्पष्ट छायाँहरूको लश्कर हेरिबस्छु !
म आजकल 
आगोको मृत्यु 
र खरानीको जन्मबारे सोचिबस्छु !
बितिरहेको काल र अस्थिर मनोदशाको झ्यालबाट 
वर्षायाममा झरेका पातहरू हेरिबस्छु !
आजकल यो पृथ्वीमा 
म एउटै कुरा सोचिबस्छु -
हामी कस्तो मौसम र कुन याममा झर्छौं होला 
हाम्रो जीवन कस्तो लय र प्रलयमा झर्छ होला ?
०००
 
	
	

