भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वसन्त-सम्झना / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(यो कवितामा छन्द भंग गरेर लयमात्र मिलाएर लेखिएको छ । छन्द ध्वनि-लयदार बनाउँदा जिभ्रोमा कति मिठाससँग खेल्न सक्छ भन्ने एक प्रयोग हो। छन्दोभंगको आर्को काम छ कल्पनाको र शब्दको अवरोध हटाउनु ।)

१ आज देशमा पुष्पवल्लरी कोपिला स्तनी रंगले भरी
मलय जिस्किँदा मन्द-मुस्कुरे होली हल्लिँदी होलीकी परी । ----
२ आज बागमा केसरी नटी कुसुम-कामिनी सुरभिभाषिणी
वसन-सुन्दरी कस्वी कोमला अत्तराउँदी हो हरा थला ।
३ आज वन-चरी कलकलाउँदा मञ्जु मञ्जरी सल्मलाउँदै
सुस्त लम्बिँदै मृदुल घाममा आङ तान्दा हुन् छल्बलाउँदै ।
४ आज कोयली काली सुन्दरी मञ्जरी-चुचे छिरबिराउँदी
पालुवा बुटे पंखले डटी झूलन- बागमा हो कराउँदी ।
५ फूलकी चरी गहुन सुन्दरी कनक धूलीले पंख बुर्बुरी
घामकी कथा मधुर कीपमा मधु चुसी बसी मस्त हो हुँदी।
६ मोती-बुर्बुरे धवल पुष्पको धरहरा बनी आलुबखडा
मधु-परी भरी माल्य मोहिनी मधुर लचकले हाँस्दी हो खडा।
७ झुप्पा पालुवा, "मलय-पाहुना, उत्तरैतिर तुहिन-मन्दिर
शिवनिवासको हेर माधुरी !" भन्लान् भावका नृत्यले भरी।
८ आज देशमा दिव्य मोहिनी पन्ना-पना भै अधर ली फूटी
लहलहाउँदा हाव-भावमा हुँदी हो नन्दने नृत्यकी नटी ।
९ आज दाडिमी पालुवा मिठो सब कलेजी भै मृदु-कलेवर
जून क्यै छिरी प्रथम मेधको होली लाउँथी हीरा सुन्दर ।
१० आज देशमा किम्बू-कोपिला हरित रेशमी जादू-वाकसे
मधुर धाममा नागिनी बनी फुल्दी हो झुकी पवन खुसखुसे ।
११ आज बैँशकी धुँधुर-केशीको कनक- छत सफा चट्ट झोपडी
उपर आरुको मधुर रङ्गमा पूर्णचन्द्र हुन् हेर्दा मुस्कुरी ।
१२ फागुन-फागुमा होली-रंगको छिर्का छिर्किँदा चोली सुन्दरी
‘नाइँ नाइँ’को हाव-भावमा हाँसी खस्किँदा हुन् कुसुम-परी ।
१३ मग्मगाउँदा सुन्तला हरा मोती-फूलले बर्बराउँदी
मञ्जु मन-मुने मलय-छैल त्यो सुन्तला-प्रभाव हेर्न हो रुँदी।
१४ अधिक कामिनी मधु-टटल्किँदी हरित गुण्ठकी भोगटे फूल
पवनमा छिटी तीव्र अत्तर भँबर-भुन्भुने होली बर्बर ।
१५ मखमली-झुसे कैलो ली भुवा कस्तूरी-स्तनी सर्पेनी बनी
कनकचम्पाको हरित खोपीमा गुञ्ज मधुपकी डाँट मोहिनी ।
१६ आज चुस्ता हुन् गोपबालले फूल कइयौँ डाँठ नाजुक
अमृत-विन्दुझैँ कनकपुञ्जमा मधु मीठा चुसी गन्धबोधक।
१७ ढस्की कल्कीका लाल विनयका छिर्बिराउँदा रस-छहारीमा
बैँश-बुल्बुले कनकचम्पा भै स्वप्नगान हुन् गुन्गुनाउँदा ।
१८ कनक-फूलले ढकमकाउँदी ढक्कीदारमा बर्बराउँदी
जाई छर्दी हो गन्धामाधुरी प्रेमस्वप्न त्यो कुन्तले भरी ।
१९ निबुवा-फूलका माधुरीमनी जून-नजर भै प्रेम-च्याखुरा
कण्टकाउँदा हृदय अश्रुले प्रिय-निराशमा हुन् भिजाउँदा ।
२० आज मनहरा नागबेँलिदी मोती-लहरले कल्कलाउँदी
चाहा-चुल्बुले शान्त निम्नगा होली जूनले झल्मलाउँदा ।
२१ आज देशमा दिव्य जागृति जग्मगाउँदै अग्निका शिखा
झल्मलाउँदो गन्धवाहमा भर्दो जोश हो रंगदीपिका ।
२२ बाह्रमासेको रम्य झाङमा जून-सुन्दरी पट-वसन्तीमा
पम्पा रानीको मोहिनी कथा बुल्बुलाउँछन् कुल्बुलाउँदा ।
२३ आज गौँथली पृथिवीमोहिनीतर्फ जो उडान पुष्प उच्च छन्
       चिर्बिराउँदा समय-दूतझैँ. मधु-खबर लिई फुर्फुराउँछन् ।
२४ आज देशमा बल्लरीभरी राजा रुक्माङ्गद मोहिनीसँग
प्रणयशील छन् सब पहाडमा कवि कथाहरू मस्त फुल्दछन् ।
२५ आज कुर्कुरे ढक्कुरे मन करुण कुर्लियो प्रियवियोगमा
पंख देन रे भारती चरी, उड्थेँ रे सतत स्वप्नलोकमा !

....................................................
युगवाणी, १।१४, १७ वैशाख २००५