वागमती सफाइको तेल घसेर सडकमा निर्लज्ज हिँडिरहेछु / सन्ध्या पहाडी
हो मैले गल्ती गरेँ
झिसमिसे मै उठेर
सेचन गरेर बागमतीको पवित्र जलले
नदी र जीवन
जीवन र नदी पढाउने
ति पुर्खाहरूलाई चटक्क भुलेर
हो मैले गल्ती गरे।
कुन मोहको पहाडले थिच्यो मलाई
कुन लोभको बादलले छोप्यो मलाई
पत्तै नपाई एउटा धमिलो सभ्यता
हुर्कियो म भित्र।
डुबेर बागमतीमा आज पनि निर्धक्क मुस्कुराउछ जून
न्याने आत्मियता निशंकोच खन्याउछ घाम
चराहरूले चिरविराउन भुलेका छैनन् आजपनि
उस्तै छ पर मन्दिरबाट गुञ्जिने घण्टाको ध्वनि
तर आफ्ना सारा विवेक र ज्ञानहरूलाई
बाकसमा ताल्चा लगाएर हिडेको मान्छे म
आज आफूले खनेको खाल्डोमा
आफै पुरिदै छु ।
हो मैले नै खोसेको हुँ
घुम्दै बग्ने ति छालहरूका
ओठका निला मुस्कानहरू
मैले नै दिएको हुँ
बदलामा यि दुर्गन्ध र फोहोरहरू
यतिबेला बागमती सफाईको तेल घसेर
सडकमा भिडसँगै निर्लज्ज हिँडिरहेछु म।
मौन दर्शक पशुपति
चुपचाप हेरिरहेछ मान्छेहरूको यो चर्तिकला
किन भन्न सक्दैन ऊ
ओ मान्छे फोहर बाहिर हैन
तिमी भित्रै छ
त्यसैले पहिला पखाल आफुलाई ।