वात्सल्य प्रेम / बद्रीप्रसाद बढू
(२९ आश्विन २०७१)
पच्पन्न वर्षको आयु पूरा आज ममा हुँदा
संझन्छु जननीलाई कृतज्ञता चढाउँछु /
लक्ष मेरो तिमीलाई सुख शान्ति दिलाउने
त्यस्को निम्ति म मर्ने छु, आमा! तिमी नरोऊ है!
//१//
मलाई पेटमा बोक्दा कष्टमा तिमी नै थियौ
मलाई जन्मना साथ काखमा तिमीले लियौ /
म तिम्रै दूधका धारा चुसी चुसी रमाउँदा
कष्टमा कष्ट भोग्यौ कि ? खुसी पो अथवा भयौ ? //२//
मलाई शिरमा दुख्दा डरायौ मनमा तिमी ?
भाक्यौ कि वनकी देवी ? सहारा कसको लियौ ?
खोज्यौ कि ज्योतिषी जान्ने? मर्स्याङ्ग्दी पारिको कतै ?
फुक्ने, जान्ने र धामीको सहारा कतिको लियौ ? //३//
आँखाका डिलमा आँसु थामी थामी डराउंदै
खोजी खोजी गयौ होला धामीको घरमा रुँदै
असहाय भई एक्लै छट्पटाई दिनै भरी
बाटो कुर्दै बस्यौ होला संझेर परमेश्वरी//४।।
मलाई बुईमा बोकी, माइती तर्फ लम्किँदै
उकालो संजुरे ठाडो, कसरी उक्लियौ कठै!
मलाई भुइँमा तान्दै, रमाई कहिले रुँदै !
थाक्यौ कि ? अथवा भोकै कसरी उक्लियौ कठै //५//
साउने भेलमा भिज्दै मलाई ओत लाउँदै
चैतको धूपमा कैले, भदौरे घाममा हिँड्यौ
अँध्यारो साँझमा हिँड्दा, झ्याउँकिरी कराउँदा
कलिलो वयकी आफै, डरायौ कि डराइनौ?//६//
जेठको घामले चर्को आँत आफ्नो सुकाउँदा
दूधका स्नेहका धारा मलाई नै दियौ बसी/
भोकले जिउ नै आफ्नो थर्र थर्र कमाउँदा
खजाना पटुका खोली मलाई पहिले दियौ //७//
मलाई काखमा राखी, लुटुपुटु गर्यौ कति !
मलाई मुटुको माया, पोखी पोखी दियौ कति !
दु:ख आफ्ना सबै बिर्सी, मलाई सम्झियौ कति!
वात्सल्य प्रेमको मूल्य, थाहा छैन, कति कति! //८//