भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विचार / अबीर खालिङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अँध्यारो रातमा आत्मदाह गरेपछि कोइलीले
भोलिपल्ट बिहान
गीत खोज्नेहरू थिए /
लाश रुंग्नेहरू
कोही थिएनन ।

चट्यांगको प्रहारले चिरा चिरा भएको रुखले
सावनको झरी
पर्खेर बसेको छ कि
कुन युगमा फेरि आउला त्यो झरी ?

झ्याल ढोका खुल्ला राखेर
बस्न सक्छौ?

उ आउँछ र
सुस्तरी तिम्रो निधार / केश सुम्सुम्याउँछ ।
छोयौ भने उ
बुद्ध हुन सक्छ /
गाँधी हुन सक्छ /


तिमीभित्रको तिमीपनलाई परास्त गरेर
आफ्नो साम्राज्य फैलाउँछ ।

कतिले घाम भनेर तापे
खरानी भए ।

कतिले तिर्खाएर पानी संझे
डुबेर मरे ।

भन्नुहोस महाशय !
घाम, पानीदेखि तपाईं कति टाढा हुनुहुन्छ ?