भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विज्ञापन / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जिन्दगी बेचिदिन्छु म ।
 
हकर चाहिएको छ !
चिच्याई–चिच्याई
मेरो जिन्दगी बेच्नसक्ने हकर ।

जेनिफर लोपेजको नग्न तस्बिर राखिएको
बलात्कार र हत्याको त्रासदीपूर्ण
काँचा अक्षरहरू छापिएको
दैनिक अखबारजस्तै जिन्दगी बेचिदिन्छु ।

टुक्राटुक्रामा भए पनि जिन्दगी बेच्नु छ मलाई ।

सडक, चोक, बस, बजार, जङ्गल
जतै अकारण टुक्रन्छ जीवन जुनसुकै बेला
आखिर !
विनसित्तै, अकारण टुक्रिनुभन्दा अघि
किन नटुक्र्याउने हँ ?
रुपियाँ–रुपियाँमा
गाँसगाँसको टुक्राटुक्रा– जीवन ।

ऐ... ! दुनियाँ क्रेताहरू हो
तिमीहरू मेरो जिन्दगीको
अङ्गअङ्ग खरिद गर्न सक्छौ क्यासको क्यासमा
तर......अहँ !
म मेरो मुटु बेच्तैबेच्तिनँ
तिमी दुनियाँभरको किमत लगाऊ
कुनै मूल्यमा बेच्तिनँ मुटु म ।

मेरो मुटुमा
मेरी प्रेयसीको प्यारो देश छ ।