विनिर्माण / मौन आवाज
सतीदेवीको अङ्ग पतन भए झैँ 
मेरो चेतना पतन भएको छ !
प्राग् - पशु 
डाइनोसर लोप भए झैँ 
मेरो प्रेम लोप भएको छ !
म कतै जर्जर लिंगबाट झरेको छु
कतै भग्न योनीबाट खसेको छु 
म निरन्तर स्खलित भएको छु !
मेरो आत्म - स्थापनाको अब कुनै गुन्जायस छैन
म कतै टुक्रिएको छु 
कतै चोइटिएको छु ।
म बारम्बार खण्डित भएको छु !
मेरो मस्तिष्कभित्र कुनै विचार छैन 
मेरो हृदयभित्र कुनै स्पन्दन छैन।
मेरो आँखामा कुनै सजिव चित्र छैन
मेरो पाइतालामा कुनै सग्लो यात्रा छैन ।
मसँग केही स्मृतिहरू छन् 
तर / ती मृत: छन् !
मसँग केही आँशुहरू छन् 
तर / ती जमेका छन् !
अब मसँग आकाशजस्तै फराकिलो आकाश छैन
अब मसँग धर्तीजस्तै विशाल धर्ती छैन !
थाहा छैन 
कुन डाँकू समयले उजाड बनाएर गयो -
मेरो शिशु बस्ती ?
थाहा छैन 
कसले हरण गर्यो 
मेरो भावना र संवेदना 
कसले नष्ट गर्यो मेरो चञ्चलता
र गतिशीलता ?
थाहा छैन 
निर्जीव जड् शालिक झैं 
जिवनको उदास स्मारकमा कसले गाडेर गयो मलाई ?
थाहा छैन 
एउटा सद्दे मान्छेबाट 
कसले गर्यो मलाई विनिर्माण ?
०००
 
	
	

