लु भयो
म अब तपाइँसँग कुनै प्रश्न गर्ने छैन
आँखा चिम्लनेछु
र
यावत अनुत्तरित प्रश्न
अँध्यारोमा
अँध्यारोसँगै
जलाइदिनेछु
र म
मौन उभिनेछु
आफ्नै सपनाको वृत्तमा
कोही हुने छैनन्
मेरा वरिपरी
तपाइँ भरि
केवल लमतन्न सडक
लौ अब कुदाउनुस्
कालो घोडा निस्फिक्री
अबोध छातीहरूमा
म केही बोल्ने छैन
मात्र चिम्लनेछु आँखा
र हराउनेछु आफैबाट टाढा
म अब कुनै प्रतिवाद गर्नेछैन
कोर्नुस बतासका छातिभरि
काला अक्षरहरू
सारा आकाश तपाइँकै हुनेछ
उड्नुस् बाइपंखी घोडामा
या नाच्नुस्
आफ्नै पागल सपनाहरूको वृत्तमा
म व्युँझँदा पो दुख्छ
तपाइँको छाती र
चिथोरिन्छन् तपाइँका सपनाहरू
लौ भयो,
म निदाइदिनेछु
ढुक्कले कुदाउनुस् अब
तपाइँका घोडाहरू
चाहे जति बादलका धर्तीहरूमा ।
म मात्र किन उभिरहूँ
तपाइँको विपक्षी गोलाद्र्धमा
किन कालो प्ले कार्ड लिएर
उभिरहूँ जीवनभर
समयको किनारमा
तपाइँले टेक्दा
दुख्दैन अरूका छाति भने
म मात्रै किन
दुख्नुको पीडामा उभिइ रहूँ
भयो, अब म मौन पल्टिनेछु
तपाइँका सपनाका घोषणा पत्रहरूमा
कुदाउनुस् रथहरू कति कुदाउनु हुन्छ
मेरा अबोध छातिमा
यति भए शायद तपाइँको
त्रिलोकीय सम्राट बन्ने सपना
शायद पुरा होला
र हिरन्यकशिपु सपना
अझ लम्बिने होला
केही समय
यहीँ यो अभागी धर्तिको
एउटा कुनामा !!