वियोगिनी सन्ताप / पुण्यनाथ शर्मा लोहनी
सासू देखिसहन्न नन्द बजिनी आँखा तरी मर्दछे
जेठानी मुसुमुन्द्रि क्यै चुक भये लाई खुशी पार्दछे ।
चाकरहेरु नटेरने पति भने पर्देशमा राज् हुने
चिर्छन छाति चरक्क कामशरले कुन् युक्तिले बाँचने ।।१।।
देख्दा हाय ! वसन्तको समय यो छाती उसै फुट्दछन्
छिन-छिनमा विजि कामका शर कडा टुक्रा हजार् बन्दछन् ।
आँशू वर्वर नेत्रदेखि झरदै राता भये येसरी
पर्खूं भन्दछ आश ली मन तई हो बाँचने के गरी ।।२।।
कस्तो सुन्दर हा ! थियो शरिर यो फुस्रो भयो शोकले
बाला बाजु बने शरीर घटदा बाँकी छ प्राण आशले ।
यस्तो दु:ख-समुद्रमा परि सदा विह्रल् भयेकी ममा
गर्दैनस् किन दैव ! एक रति दया पत्थर जम्यो की तँमा ।।३।।
बस्छन् सय संगिनीहरु लिपी फुल्दार झाडीमनी
वर्वर आँशु खसालि झ्यालिबचमा बस्छू म ता दिन् गनी ।
आयेनन् पति तैपनी ऋतु भने बित्दो छ सर्सर गरी
यस्तो देखि अघोर रुन्छ मन यो बेहोश भै धर्धरी ।।४।।
खासा कोमल पातली कमलका गद्दी बनाईवरी
छिटछन् शीतल जल् पनी घरिघरी हाँक्छन् इ पङ्खा घरी ।
गर्छन् ज्यान दिई सखीहरु पनी आराम् गराऊँ भनी
जम्का सङ्ग नपाउँदा मकन ता बाधा दिने ई पनी ।।५।।
कत्रो पुण्य गरेर मानिस जुनी पायें यहाँ लोकमा
कस्तो यौवनले छु पूर्ण अहिले सारा सखीहरुमा ।
दिन दिन घट्दछ यो उमेर अब ता फर्कन्न यस जन्ममा
वनकी कुन्द लतासरी अब भयें यै रै'छ यो कर्ममा ।।६।।
सारै नै म अभागि रै'छु सबमा कुन् पापको राशिले
बैसैमा पतिसङ्गले रहित भै बस्नुपरयो शोकले ।
आई नाथ मलाइ साथ दिनका बिचमा जसै चूमेनन्
द्यृला दैव ! अवश्य जान तिमिले पूजा मिठाईसमन् ।।७।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)