भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विरहिणीउपर सखीको प्रश्न / श्यामजीप्रसाद शर्मा अर्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चन्द्रतुल्य मधुरो सुख-कारी
जो थियो वदन-मण्डल भारी ।।
देख्दछू म उहि मन्द उजार
के भयो र तिमि छयौ दिकदार ? ।।१।।

गोल गोल दुइ कोमल गाला
लाल लाल बहुतै रस-वाला ।
लालिले रहित देख्दछु आज
छैन हाय ! किन ठीक मिजाज ? ।।२।।

प्राणतुल्य दिलको दिलदार
कण्ठको पनि मनोहर हार ।
के भयो र वलपूर्वक तानी
फ्याँक्दछयौ ? प्रिय सखी ! दिक मानी ।।३।।

कस्तुरी, कपुर, कुंकुम भारी
गन्धसार अत्ति शीतल-कारी ।
बस्तछयौ शरिरमा नलगाई
पोल्छ कि प्रिय सखी ! तिमिलाई ? ।।४।।

केश-पाश पनि कत्ति नबाटी
झोक्रिएर यसरी बनि लाटी
के जपेर मनमा दिनरात
बस्तछयौ ? नगरि क्वैसित बात ।।५।।

वेश वेश कपडाहरु भारी
भूषणादिक पनी पर सारी ।
खालि अज जिमिमा अलपत्र
पर्दछयौ पिर छ के मनभित्र ? ।।६।।

बागमा फुलहरु फुलदामा
बास विघ्न मधुरो बहँदामा ।
लाग्छ विघ्न झरको तिमिलाई
के भयो मनन दर्द मलाई ।।७।।

मन्द मन्द गतिले चलि बात
वृक्षका हिलदछन् सब पात ।
देखि त्यो अनि मनोहर छाँट
लाग्छ हाय ! किन अज उराठ ? ।।८।।

बागमा डुलि-डुली रसवाला
पुष्प छानि टिपदै गुँथि माला ।
बस्तथ्यौ अघि खुशीसित पैर्ही
आज तेहि हुनगो किन वैरी ? ।।९।।

बोलि बिघ्न मधुरो गरि आज
वृक्षबीच बसि कोकिलराज ।
बोलदा पनि अहो ! तरसन्छयौ
के भयो र तिमि काँतर हुन्छयौ ? ।।१०।।

मन्द मन्द जति चल्छ समीर
ढल्दछयौ उति भयेर अधीर
हाय ! के हुन गयो तिमिलाई
लौ न लौ सखि ! बताउ मलाई ।।१२।।

पूर्ण-चन्द्र अति शीतल खाश
देखद गगनमध्य प्रकाश ।
बस्तछ द्यौ किन मुहार झुकाई
ताप हुन्छ कि हरे ! तिमिलाई ।।११।।

खोपिबीच रति शान्ति नपाई
वागका बिच डुलूँ भनि जाई ।
पक्षिको सुनि मधुर अलाप
गर्दछयौ किन अघोर विलाप ? ।।१३।।

खेलबाडतिर चित्त हटाई
रातभर् नसुति देह गलाई ।
श्वास लामु मुखदेखि निकाली
हाय ! हाय !! गरछयौ किन खाली ? ।।१४।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)