भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ओकिउयामा ग्वाइन / परिचय

27,827 bytes added, 09:57, 3 फ़रवरी 2021
'{{KKRachnakaarParichay |रचनाकार=ओकिउयामा ग्वाइन }} '''ओकिउयामा ग्व...' के साथ नया पृष्ठ बनाया
{{KKRachnakaarParichay
|रचनाकार=ओकिउयामा ग्वाइन

'''ओकिउयामा ग्वाइन परिचय''' (नेपाली)

नेपाली भाषा सिकेर नेपाली साहित्यको शिखरमा पुग्न सक्ने व्यक्तित्व सायद उनी एक मात्र गैरनेपाली होलान् । धेरै नसुनेको, अनौठो नाम भए पनि नेपाली साहित्यवृतमा निकै चर्चित नाम हो यो । प्रवासबाट नेपाली साहित्यको मुलधारमा गरिमामय स्थान पाउने भाग्यमानी कवि हो जसले ईश्वर बरालदेखि चुडामणि बन्धुले सम्पादक गरेको कविता संग्रहमा आफ्नो कविता समाहित भएको पाएको छ । करिब ३० वर्षको उमेरमा नेपाली भाषा देवनागरी लिपिमा लेख्न सिकेका उनी अर्को ३० वर्षमा भारतमा दिइने सबैभन्दा ठुलो पुरस्कार साहित्य अकादमी पाउन सफल भए । उनी यो पुरस्कार पाउने चौथो स्रष्ट्रा थिए। नाम हाे- ओकिउयमा ग्वाइन । सायद नँया पुस्ताका धेरै नेपाली पाठकहरु नसुनेको नाम, नपढिएकाे कवि।

पारसमणि प्रधानको प्रेरणाबाट नेपाली साहित्यमा होमिएको ग्वाइन सन् १९४७ मा मात्र दार्जिलिङ आइपुगेका थिए । सन् १९५० मा पारसमणि प्रधानलले उनको अंग्रेजी र दुवै खेमाको दर्शनमा दखल देखेर दर्शन र भावले भरिएको उमर खैय्यामको रुवाइयात नेपालीमा अनुवाद गर्न लगाए, १५ दिनको म्याद दिएर । तर उनले ७ दिनमै अनुवाद पूरा गरेर आए, देवनागरी लिपीमा होइन रोमन लिपीमा । किनकि त्यसबेलासम्म उनले देवनागरी लिपीमा लेख्न सिकेका थिएनन् । त्यो अनुवादलाई देवनागरी लिपीमा टङ्कन गरी प्रकाशित गरे प्रधानले । त्यो नै ग्वाइनको प्रथम कृति थियो नेपालीमा । तर अंग्रेजीमा लेखिएको Little Life उनको प्रथम कृति हो । उनको प्रथम कविता हिमाल सौन्दर्य चाहिँ लैनसिंह बाङदेलद्वारा सम्पादित ‘प्रभात’मा ८ जनवरी १९५१ मा प्रकाशित गरेको पाउछौँ । पचासको दशकमा उनको कविताहरु धेरै पत्र‍पत्रिकामा प्रकाशित भएको थियो ।

उनका कविताहरु मुर्धन्य समालोचकहरुले समीक्षा गरेका छन, प्रायः सबैले सकारात्मक टिप्पणी गरे । समालोचक ईश्रव बराल आफ्नो ‘कवि ग्वाइनः छोटो परिचय’ लेखमा लेख्नु हुन्छ, ” आफ्नै पाराका आवेशजनित भाषा, शब्दचयन, व्यञ्जकत्व, कटुकत्व, सामासिक प्रयोग अन्तः सौन्दर्यको रुपायन, दुरारुढ कल्पना, सौन्दर्यचेतना, भाषिकवक्रता ग्वाइनका शैलीका विशेषता हुन् । …. तिनले भावलाई नयाँ अर्थगौरव प्रदान गरेक छन् र आफ्ना कवितालाई भावोद्रेकचित्र, भावात्मक अनुभूति तथा स्वानुभूतिका प्रगाढताले नयाँ सम्प्रेषणशक्ति पनि प्रदान गरेका छन् ।”

ग्वाइनको कविताहरु जीवन दर्शनले भरिएको हुन्छ र निम्नलिखित कवितामा यो पक्ष राम्ररी नै झुल्किएको छः

बटुवा

मेरो माटोको पृथ्वी मैले

माटोमा गाडेर आएको छु

मेरो समादिमाथि

टिमटिम बलेको त्यो

शेष दियो प्रिय

मैले ने निभाएर आएको छु ।

मैले ओकिउयमा ग्वाइन नाम स्कुले जीवनमा नै सुनेको हो र ९ कक्षामा पढ्दा उनले अनुवाद गरेकाे खलिल जिब्रानको तटमा तरङको गीतहरु र हेमिङ्गेको बूढो र समुन्द्र किनेर पढेको हुँ । अरु कविताहरु पनि सानैमा पढ्ने अवसर पाए पनि त्योबेला बुझ्न नसकेकोमा अहिले ग्लानी हुन्छ । उनले काठमाडौको पुरानो बानेश्वरस्थित युनिभर्सल विद्यालयमा पढाउने काम गर्दा भेट्ने अनेकन् प्रयास गर्दा पनि भेट्न नसकेकोमा पछुतो लागेको छ । ओकिउयमा ग्वाइन- मलाई एक किसिमको दार्शनिक जस्तो लाग्छ जसलाई भेट्न सबै चाहने तर कमैले मात्र त्यो सौभाग्य पाउने- ध्यानमग्न साधक जस्तो । सायद यो कविताले ग्वाइनको चरित्र चित्रण गर्छः

वेला शेष

जान्न पाएको छु

जीवन, मात्र, अभिव्यक्ति एक

एक शुद्ध उच्चारण।

हस,

जान देउ बरु

भुलिहाले भुलहरू

एकत्न गरेर राखेको थिएँ

जे-जति जतनसित

मणि-माणिक्य भनेर,

तिम्रै नामको विशुद्ध-विन्याद

गर्न सकेछु, इहजीवन,

नाम नै तिम्रो,

भयो नि मेरो

जीवनको पूर्ण अभिव्यक्ति

त्यसै कारण,

ढोल पिटी, डुल्छु म, संसारभरि

वेला शेष आएर

तिम्रै पढ्नेर

रहन्छु बसी।

ओकिउयमा ग्वाइनको बारेमा विस्तृत लेख लेख्नु भएको छ डा. लक्खीदेवी सुन्दासले, सिक्किमबाट प्रकाशित भएको प्रक्रिया पत्रिकामा । डा. सुन्दास ग्वाइनको कविता यात्रा केलाउँदै लेख्नु हुन्छ, ” ‘चित्रलेखा’का ( सन् १९५७) १८ फुटकर कविताहरुमा दर्शन र आध्यात्मिक रहस्यवादी, भावमा आश्रित कविताको लयात्मक स्वरुप मात्रिक गीति र गद्य कविताको शैली छ । ‘भाव-सम्भवा’ (सन् १९६२-दोस्रो कृति)- र ‘अनामिका’ ( सन् १९६५, तेस्रो कृति) का कविताहरुमा मुलतः प्रकृतिको मानवीकरण गरिएको छ । यसबाहेक उनको आध्यात्मिक एंव ईश्वरवादी आस्तिक स्पर्शसमेत रहेको छ ।”

ओकिउयमा ग्वाइनको कविताको चर्चा गर्दै समालोचक चुडामणि बन्धुले साझा कविताको भूमिकामा लेख्छन्, ”नेपाली कविताको इतिहासमा ओकिउयमा ग्वाइनको आफ्नै किसिमको योगदान छ । वेदना जस्ता सुरुका रचनामा उनको सिकारुपन पाइन्छ तर ‘भावसन्भवा’ र ‘अनामिका’ मा सङग्रहित कविताले उनका प्रतिभाको परिचय दिन्छन् । कही प्रतीकहरुका सहायताले अनि कही सोझै थोरैमा धेरै भन्नु ग्वाइनको आफ्नै शैली हो । तर यसले गर्दा उनका कवितामा केही अमुर्तता र अस्पष्टता पनि पाइन्छन् । पछिका कवितामा चित्रात्मकता प्रखर हुँदै गएको देखिन्छ ।”

शेष आवरण उनको निकै राम्रो कवितामा पर्छ । यस कवितामा असमिया भाषाको प्रयोग गरेर शब्दार्थ पनि दिएको छ । कविताको भाव बुझ्न सजिलो भए पनि शब्दहरु बुझ्न कठिन छ ।

शेष आवरण

आज जीवनमा

शीतलको प्रकोप बढेछ;

पक्‍व धान्य कृषकदलले

काटेर लगेछ

मात्र पाथारमा,

शैत्य-ऊर्मी फैलेर रहेछ ।

रातको अँध्यारोमा

धानका नरा[1]

तन्देरी ठिटाले, शीतका गीतले

काटेर लगेर

हाडली घर[2] बनाई राखेछ

मीनसङ्क्रान्तिको उषाको क्षण

अग्‍निपूजा गर्नको लागि

जलाई घर ।

मेरै जीवनमा शीतको प्रकोप

बढ्दै गएछ-

आऊ द्वादशी

आऊ न कामिनी दामिनी भामिनी, आऊ रमण-

योग्या रमणी,-

तिमीहरु सबैका, देह-अनल

जलाएर राख्‍न

मेरो परिधि घेरेर

आउँछ होला तब

निष्काम तारुण्य

जीवनमा मेरो

फर्केर फेरि

-त्यसैले-

दहेर तिनका,

देहका दैहिक, हुताशनमा

कामना मेरो, भस्मीभूत

भएपश्‍चात्

नुहाएर मलाई, अभिज्ञ गङ्गाको

पूत सलिलमा

आवृत गर्नू शेष आवरण

-श्‍वताम्बरले ।

शब्दार्थः
१. नरा- (असमिया) धानका बाला काटेर लगेपछि रहेको फेदसम्मको बाँकी अंश, पराल ।

२. हाडली घर- (असमिया) ठिटाहरुल् राति-राति उक्त नरा काटेर बनाएको घर, यो घर खेत मै बनाइन्छ । माघी-सङ्क्रान्तिको दिन एकाबिहान अग्‍निपूजाका लागि यो घर जलाउँछ । यो दिनलाई आसाममा “माघ बिहु” भन्दछन् र यो एउटा जातीय उत्सव हो ।

‘सुनाखरी’ ग्वाइनको काव्यात्मक उपन्यास हो जुन कृतिमा ग्वाइनलाई सन् १९८० मा साहित्य अकादमी पुरस्कार दिइ्यो । यो उपन्यासले जति प्रंशसा पाए त्यति नै आलोचना पनि खप्न पर्यो । यस विषयमा कवि एंव समालोचक डा. जस योन्ञन प्यासीको आफ्नो पुस्तक “परिचर्चा”मा दिएको स्पष्टोक्ति मननीय छ । समालोचक ‘प्यासी’ लेख्नुहुन्छ – “ग्वाइनको नागबेली (ग्वाइनको पूर्वप्रकाशित उपन्यास, सन्१९७० ) सबैको हृदयमा फैलिन सकेन, सुनाखरी कसैको हृदयमा फुल्न सकेन । …. उपन्यासलाई उपन्यास हुनु पनि आधार चाहिन्छ अनि उपन्यासलाई त्यही चाहिने आधार र तत्त्वहरु ‘सुनाखरी’मा छैनन्। … वास्तवमा सुनाखरी उपन्यास पनि होइन मेरो दृष्टिमा । … मैले सुनाखरीलाई ‘उपन्यास’ नभनेर ‘पुस्तक’ मात्र भन्दै आएको छु । … सुनाखरीले राष्ट्रिय अकादेमी पुरस्कार पाएकोमा हामीलाई अगाध हर्ष छ, तर सुनाखरी बुझ्न नसकेकोमा भने हामीलाई उतिकै अमर्ष पनि छ ।”

प्रसिद्ध समालोचक कृष्णचन्द्रसिंह प्रधानले ‘सुनाखरी’ चिरफार गरेका छन्, उनको बहुचर्चित ‘नेपाली उपन्यास र उपन्यासकार’ पुस्तकमा लेख्छन, ” सुनाखरिको मानवात्माको स्थिति र नागार्जुनद्वारा प्रतिपादित शून्यमा कति तादात्मय छ । शून्यलाई शून्य पनि भन्न नसकिने अशून्य पनि भन्न नमिल्ने र यी दुवै पनि भन्न नहुने परिभाषासँग मिल्दो शून्यको स्थितिबोध सुनाखरीको स्वचैतन्यको छ ।” उनले सुनखरी उपन्यास भने पनि सजिलैसँग अंगीकार गर्न नसक्ने बताउँदै यस्तै उपन्यास लेखिने हो भने विश्वमा उपन्यासको भविष्य कस्तो होला भनी आशंका व्यक्त गरेका छन् ।

ओकिउयमा ग्वाइन अंग्रेजीमा पनि राम्रै दख्खल भएको हस्तसिद्ध लेखक हुन् । करिब ३५ वर्षअघि उनको The Drama पढेको थिएँ । यो पुस्तकमा उनले यौन र भोक वास्तवमा दुई वृत्ति होइन, एउटै हो, यी कुरा मान्छेको आधारभूत आवश्कता होइन, मान्छे नै आधारभूत हो भन्ने भाव व्यक्त गरेका छन् । यो पुस्तकको बारेमा पुस्तकको खोलको अन्तिम पातोमा लेखक/ सम्पादक भरत यादव, लेखक रामलाल अधिकारीले पुस्तकबारेमा आफ्नो धारण व्यक्त गरेका छन् । यस पुस्तकबारेमा लक्खीदेवी सुन्दास लेख्छन्, ”अंग्रेजी भाषामा उनका दुई मौलिक कृतिहरुमा पहिलो लिटल लाइफ ( कविता) र ‘द ड्रामा’ (नाटक), सृष्ट्रिका दुई प्राणी नारी र पुरुषलाई संवादको माध्यमबाट विश्व-ब्रह्माण्ड, जीवन-जगतका रहस्यलाई ‘द ड्रामा’मा उपस्थित गरिएको छ ।”

ओकिउयमा ग्वाइनको कविताको शैली विषयमा धेरै विद्वान्हरुले टिका‍टिप्पणी गरेका छन् । चुडामणि भट्टरार्इ लेख्छन्, ”बङ्गाली परम्परा पचाएर नेपालीमा सोझै बङ्गालीबाटै कविताको शैली उतार्न उत्रेका, नेपाली मातृभाषा नभएर पनि नेपालीका कवि हुन- ओकिउयमा ग्वाइन ।”

त्यस्तै डा. कुमार प्रधान लेख्छन्,” ओकिउयमा ग्वाइनका कविता विशिष्ट कोटिका छन् ।… रहस्यवाद, र अध्यात्मकतिरको गहिरो चाखले ग्वाइनको लेखनलाई रहस्यात्मक दिएको छ। उनको रुचि विस्तृत छ। आफ्नो बौद्धिक तीक्ष्णता र रहस्यमय भावद्वारा उनी कविताको नयाँ उचाइमा पुग्दछन् ।”

ओकिउयमा ग्वाइनको अन्तिम कविता संग्रह सुवर्ण-पल्लव नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले वि.स. २०५० सालमा प्रकाशित गरेकाे थियो । त्यस पुस्तकको भूमिकामा रोचक धिमिरे लेख्छन, ”आधुनिक नेपाली साहित्यको विकासको राम्रो थालनी वि.स. २००४ सालदेखि भएको मानिन्छ। ओकिउयमा ग्वाइनका कविता पनि त्यसै समयावधिमा प्रकाशित हुन थालेका हुन् । आफ् बसोबास गरेको बङ्गालको परिवेश, बङ्गाली वातावरण, बङ्गाली वाङ्मयको प्रभाव ग्वाइनमा पर्नु स्वभाविक हो । अतः यहाँका कवितामा बङ्गाली काव्यधाराको शैलीको प्रचुर छनक पाइन्छ । नेपालमा उतिसारो परिचित नभएका ग्वाइनलाई हाम्रो नजीक ल्याएर चर्चित गराउने जसचाहिँ नारायण बाँस्कोटीको ‘प्रगति’ पत्रिकालाई दिनुपर्दछ । जगदम्बा प्रकाशनद्वारा वि.स. २०१८ मा प्रकाशित कविता-सङ्कलन ‘भावसम्भवा’ले पनि ग्वाइनलाई नेपाल र नेपालीको अझ निकट ल्याइदिएको कुरा बिर्सनु हुँदैन ।”

समालोचक लक्खीदेवी सुन्दासको अनुसार ओकिउयमा ग्वाइनले सुनखरीको अंग्रेजीमा अनुवाद गरिसक्नु भएको थियो । यसकाे बाहेक जयशंकर प्रसादको आधुनिक दार्शनिक महाकाव्य ‘ कामायनी’, चिनियाँ भाषाको ‘फायियान’ पनि अनुवाद भएको जानकारी छ तर प्रकाशनमा आयो-आएन कुनै जानकारी छैन ।

जापानी बाबु, तिब्बती आमाबाट सन् १९२० मा हङकङमा जन्मनु भएको ओकिउयमा ग्वाइन, जीवनको पूर्वार्ध कलकत्तामा बितेको पाउछौ जहाँ उनले बङ्गला, संस्कृत र अंग्रेजी भाषाको ज्ञान हासिल गरे । २६ वर्षको उमेरमा दार्जीलिङ आए ग्वाइन, जागिर खाए, विभिन्न काम गरे जीवनोपार्जन गर्नको लागि अनि सिके नेपाली भाषा नेपाली साहित्यको मोहले । विमात्री नेपाली भाषी भएर पनि नेपाली साहित्यलाई ठूलो योगदान दिने ओकिउयमा ग्वाइन सन् १९९३मा बित्नु भयो । अर्का विमात्री नेपाली लेखक हुन पिटर चेङ जसले सन् १९७६ मा अधुरो सपना प्रकाशित गरेका थिए । उनले मृत्युपछि नाटक पनि लेखे र दार्जीलिङमा मञ्चन पनि गरियो । चिनिया मुलका चेङ दार्जीलिङमा बसेर नेपाली साहित्य सेवा गरिरहे ।

ओकिउयमा ग्वाइनको कविताहरुमा पूर्वीय र पाश्चात्य दर्शनको प्रचुर मात्रा प्रयोग गरेको पाउँछौँ । बौद्ध दर्शनबाट प्रभावित उहाँको कविताहरु साधारण पाठकहरुले बुझ्न निकै बौद्धिक कसरत गर्नुपर्छ । साहित्यमा सधैँ नयाँ प्रयोग गर्न रुचाउने ओकिउयमा ग्वाइन विदेशी भए पनि नेपाली भाषी भएर बाँचे अपितु उहाँमा अरु भाषाको पनि राम्रो ज्ञान र लेखन शिल्प थियो । सायद तलको कविताले ओकिउयमा ग्वाइनको कवि छविलाई स्पष्ट्र पार्न सहयोग गर्छ ।

स्थान-च्युत

आकाशका परिधिबीच

आदिम पृथ्विी

रहिन्छ पैली

मृत्युदेखि

मृत्यु-हीनसम्म

तर, ठाँउ मेरो छैन

श्थितिबीच उभिनका लागि

पदचिन्ह भएर।

वेदनाका विस्तारहरु

मोहमय विरागमा

अश्रुमय कुहिरोबीच

चियाउँदै रहेछन् बसी

निष्टुर प्रहरी झै,

मेरो यो जीवनको

प्रखर-प्रवाह

रोक्च भनी क्षणभर

थकित भई।

म रोकी गएँ

रोकी जान्छु

विस्वको यो

दृष्टिहीनता-

गन्तव्यहीन-

गौरव-विहीन गति,-

म, अघिअघि,

तानेर लाँदैछु विश्व

आविष्कार-बिना केही

अबुझनेर

मर्म्म-हीन माटाका

निर्ममतादेखि।

'''स्रोतः [https://sahityapost.com/2021/02/27104/?fbclid=IwAR0worgCjdOQg6c-tlT000wVsKwcPUfFZlpSi4h68gBRK6Mtoiv6ASgmby0 ओकिउयमा ग्वाइनः नेपाली साहित्यका गैरनेपाली साहित्यकार]''' शरद प्रधान, साहित्यपोष्ट, माघ २१, २०७७ १०:०० मा प्रकाशित
Mover, Reupload, Uploader
10,400
edits