भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

विषालु साँपले डसेपछि / बेञ्जू शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


विषालु साँपले डसेपछि
जलनहरु आगोका फिलिङ्गा भएर
आकाशबाट वैरिरहे
मैले टेक्ने ठाउँसम्म मात्र होइन
असीमित सीमाहरुसम्म
यत्रतत्र फैलिए
सास फेर्दा यी भित्र पसे
खलातीको फोक्सोभित्र, आगोहरु फुकिरहे
यी राता बमगोलाहरु कानबाट भित्र पड्किरहे
आँखाभित्र वैरिरहे
यो जलनको भट्टाभित्र
म एक्लो, नितान्त एक्लो
जिउँदो माछा भएर
पोलिरहेँ, पोलिरहेँ ।
कतै टाउको अडाउने, कसैको काँध थिएन
सान्त्वनाले थपथपाउने, कुनै मायालु हात थिएन
केस्राकेस्रा कपाल सुम्सुम्याउने
कुनै शितल तेल थिएन
आँखाबाट बहेको अविरल
रगतको वषर्ा रोक्ने
कुनै शीतल पातको रुमाल थिएन
थुक सुकेको घाँटीमा
कुनै झिनो झरनाको करुवा थिएन
तातो भट्टाबाट निकाल्ने
चिम्टाको कुनै पनि हात थिएन ।
स्वार्थ सिद्धिएपछि
रगतले तृप्त भएपछि
छोडेर फड्का मार्ने
जुकाहरु, उपियाँहरु, उडुसहरु
कोही तटस्थ किनाराको हेराइमा थिए
कोही अनजान भावको प्रदर्शनमा थिए
कोही छोइछिटो लाग्ला भनी
पानी माथिको तेल बनी, तर्किदै थिए
आगो निभाउने कुनै दमकल देखा परेन
आगो बाल्ने दाउरा, मट्टीतेल, ग्याँसको
सुनियोजित षड्यन्त्र थियो
म एक्लो, नितान्त एक्लो
पोलिरहेँ, पोलिरहेँ
सहनै नसक्ने भएर, सहँदासहँदा
सम्पूर्ण हाड, मासु, मासीहरु पोलिएर
पग्लिएर एकै ढिको भएर
म ऊर्जामा परिणत भएँछु
कालाकूट विषले पोलिएको
नीलकण्ड भएँछु
अनेक परीक्षाबाट थाकेकी सीताले
जमिनभित्र आफूलाई पुर्ने नियति होइन
सत्यको कसीमा घोटिँदा, घोटिँदा
हरिश्चन्द्रमा आएको त्यागी वैराग्य होइन
म त
आगोको एउटा ज्वलन्त ऊर्जा भएँछु
घर, बस्ती, समाज, राष्ट्र, विश्वामित्रका
विकृति, विसङ्गति, विशृङ्खलता
विसंवाद, विरुपता, विध्वंस पार्ने
भष्मीभूत पार्ने
म त जिउँदो, जाग्दो
सिङ्गो मसाल पो भएँछु ।