Last modified on 24 जनवरी 2022, at 22:09

वीरको आर्तनाद मभित्र जाग्दा / प्रेम शेर्पा ‘विरोकी

नानीहरू ओइलिरहेछन्
झुप्रो झुप्रोमा खान नपाएर –
यिनैका बाबुहरू लडिरहेका छन्
पूर्व र पश्चिममा रगत बगाएर।
खूनको बदला खून दिनपर्ने
गुणको बदला गुण दिनपर्ने
तर, यहाँ त वीरका सन्तानलाई
लत्याइएका छन् दास जस्तो।
अनि, कम्जोर बनाएर हुत्याइएका छन्
लडाईमा पर्ने पूर्खाका लास जस्तो।

रगत र ज्यानको बदला
त्याग र बलिदानको बदला
मात्र भी.सी. र चक्रहरू?
चाहिएन, फ्याँकिदेऊ!
यी चाँदी र पित्तलका टुक्राहरूलाई
बहिष्कार गरिदेऊ!
ती बैगुणीका बोक्रे सहानुभूतिहरूलाई
जसले केही दिएका छैनन्
तिमी र तिम्रा सन्तानहरूलाई।

केवल नकली 'धन्यबाद! 'धन्यवाद!'
सेता र काला हातहरुका ढाडभरि धाप।
वीरत्वले रन्केका वीरको छातीमा
यहाँ पीरै-पीर को छाप।

आज, आगो सल्केर डडेलो लाग्नुपर्छ
यो वीरको छातीबाट!
बम फुटाएर भत्काइदिनुपर्छ केयौँ छातीहरू
आज यही वीरको छातीबाट!!

हाम्रो रगत पानी होइन
जो सधैँ तिम्रो लागि बगाइदिऊँ।
हामी तिम्रो दास होइनों
जो तिम्रो लागि बाँचिदिऊँ।
हामी पनि त बाँच्नपर्छ
हाम्रा भावी सन्तानलाई हँसाएर।
हामी पनि त हाँस्नपर्छ
हाम्रा अस्तित्वलाई बचाएर।