भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वैशाखको मोहपाशबाट फुत्किएर / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अप्ठेरो बाटो छिचोलेर
गन्तव्यमा पुग्नुको मजा अर्कै हुँदोरहेछ
तीखा ढुङ्गाहरूमा आफ्नै पाइतालाले छोडेको आलो छाप
कुनै जङ्गलीफूलको सौन्दर्यभन्दा कम हुँदोरहेनछ
 
तिमीले कष्टसाध्य सम्झेर मलाई नहिँड्नू भनेको बाटो
आत्तिएर धेरैधेरै यात्रीले बिचमै छोडेको बाटो
हेर! यी छिचोलेँ मैले
दुःख मलाई पनि नभएको हैन
हौसला मेरो पनि अब टुट्यो अब टुट्यो नभएको हैन
लाचारीका नेलहरू नजेलिएका हैनन् लक्ष्यगामी पाइतालाहरूमा
हौसलाको दुर्भिक्ष पर्खाल भएर नउभिएको हैन बाटोमा
कायर दुश्चेष्टाहरूले ऐश्वर्यको लालसा पनि नदेखाएका हैनन
तर पनि हिँडेँ म
मानसिकतामा गन्तव्यप्राप्तिपछिको न्यानो कल्पना छामेर
हेर, मेरो यात्रा रोक्ने दुष्प्रयत्न गर्नेहरू आज भुइँ खोस्रँदै छन्
आफ्नै खुट्टाका बुढीऔँलाहरूले।
 
ए वैशाख !
हेर तेरो दुर्लङ्घ्य प्रतिकूलताको पहाड नाघेर
हामी उकालो लाग्दै छौँ खुरुखुरु
ओरालो झर्दै छौँ खुरुखुरु/तेर्सो लाग्दै छौँ खुरुखुरु
अब हामी तैँले बाटोकुबाटो स्थापना गरेका
कुनै नवयौवनाहरूको मोहजालमा फस्नेवाला छैनौँ
तैँले सिर्जेको क्षणभङ्गुर स्वप्नसुखमा अल्झेर
हामी जीवनको अवमूल्यन गर्नेवाला छैनौँ
हामीले बुझिसक्यौँ वैशाख, सङ्घर्षको मीठो अध्याय
अब हेर्दैनौँ हामी तेरो बाटो कुनै शुभसाइतको आशामा
अहँ हेर्दैनौँ... ... ...।