वैशाख चतुर्दशीको चाँदनीसँग / लक्ष्मीप्रसाद देवकोटा
“हिम-स्तनी ए ! हिउँमा टेकी,
किन आ’की ?”
“दिवस-ज्वरको ज्वलनको आगो
निभा’की ! ”
“सुधावदिनी हे ! स्वर्गकी चरी, किन
हँसिली वदन ?”
“प्रेमी जोडीहरुको देख्दछु,
मधुर मिलन ! ”
“यति मीठोसँग पृथिवीमा किन मुसका’की -”
“हरिया हृदय, अधरमा फुस्किन,
छु सिका’की !”
“भाव-ग्रन्थिका गहिरा बास्ना
रानी ! कसरी फुस्किन्छन् ?”
“शीतलताको ललित लतामा
एकान्त जूनमा निस्किन्छन् !”
“ए जूनरानी ! संसार निहार्छ्यौ।
के, के, उदेक छ ?”
“पागल मातले जब काढाँ सब
फूल फूल देख्छ !”
“स्वर्ग कहाँ छ ?” “मुखमा राजा ! ”
“दृष्टि कहाँ छ ?” “जूनमा राजा ! ”
“अमृत कहाँ छ ?” “दिलमा राजा ! ”
“प्यार कहाँ छ ?” “बेलीमा ताजा ! ”
“ए जून ! दिन के ?” “घाउ, घाउ ?”
“रात के प्यारी ?” “मलम, मलम ?
स्वपना, विपना, शवनम !”
“तरुनालाई म हुँ जवानी,
दीवानी !
अरुलाई हुँ, बिर्सिनसक्नु,
कोमल एक कहानी ।”
“रस केमा छ ?” “दुई प्यालामा ?”
“मधुबाला को ?” “रानी !” “रुप ! ”
“सुन्दर कहाँ छ ?” “जून-गालामा ।
सृष्टिकी हुँ पीली दीप”
“यो के जादू ?” “जीवन ! जीवन !
प्रेरणा, मिलन, सुमन !
प्रकृतिका हुन् मीठा मन्त्र, सृष्टिमुखी, यी !
इन्दु-किरण ! इन्दु-किरण !”