भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

व्यर्थको एक दिन / अन्जीर प्रधान

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आफ्नै आत्मजहरूको नाममा
विजयघोषको
निरर्थक बान्कीहरू प्रस्तुत गर्नु
आफ्नो अनुहारबाट आफ्नो हरेक निमेष
खरिद हुँदै गएको म
आफ्नै अनुहारबाट छु यसरी निरर्थक ।

उच्चाटन गरिएको समयसँग
घनत्व भत्केको व्यक्ति
मौन प्रक्षालन गरेर
आफ्नै कुरूप भावहरूबाट
कहीँ–कतै नअड्किने
अग्निप्रवाहबाट जीवन
भ्रम आँखाको
भ्रम मतिको
सत्यसँगको टाढापन आफैसँग
सीमा पर्खालहरूबाट
नजिक, छायाभन्दा नजिक
जेलिएर अस्तित्व
विसर्जन हुने बेला
एक घात आफैलाई
गरेँ मैले।

सल्लाको रूखमा
तिम्रो नाम खोपेर चक्कूले
होहल्ला र ठट्टा गरेर
टुटेफुटेका हँस्यौलीहरूमाझ
होस पन्छाएर एकछिन
सामेल हुनु
अन्ताक्षरी खेलेर
बहलाउनु, भुल्नु
गीतका घाउहरूलाई
तासको दरबारभित्र फैलेर
हुकुम चलाएजस्तो
एउटा उच्छ्वास रोकेर
समय छायाको
ढाडहरूमा उक्लेर
सूर्यास्तको तस्बिर
खिच्न लालायित
ती आफ्ना पीडाहरू बताउन
नसक्ने जङ्गलहरूजस्तै
सोखका औँलाहरूमा
झूटो अभिमान लेखेर
आफ्नै छातीमा
गौरवान्वित मानिसका छलहरू
कवाब चपाएर इन्द्रधनुष
बगेको हेर्नु
र फोहोर आलोचना
मिल्काएर
विक्षत तिमी छैनौ
तिमी माछाहरूबीच छौ
माछाको ढाडमा टेकेर
सूर्यास्तको तस्बिरमा
सबै थोक बिर्सन सक्छौ।

गन्ती भुलेको दिन
कुनै दिन फेरि
यस जङ्गलमा प्रवेश गरेछु भने
यो सल्लाले आफ्नो एलबमबाट
मलाई मेरो समयमाथि गरेको
घात सम्याउनेछ ।